ग्यास पाउन चन्द्रागिरि नगरको कार्यालयबाहिर बिहानैदेखि उपभोक्ताको घुइँचो, तस्बिरहरू
थानकोट ।
काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था मिलाएपछि तोकिएका स्थानहरूमा उपभोक्ताहरूको ठूलो भीड लागेको छ।
आयल निगमको टेकु परिसर लगायतका क्षेत्रमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताहरूको लामो लाइन देखिएको छ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको समन्वयमा ग्यास उद्योगीहरूमार्फत आज आइतबार उपत्यकाका विभिन्न सात स्थानबाट ग्यास बिक्रीवितरणको व्यवस्था मिलाइएको छ। नियमित विक्रेताहरूबाट ग्यास पाउन नसकेका र अति आवश्यक परेका उपभोक्ताहरूलाई लक्षित गरी यो कदम चालिएको हो।
बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका स्थानहरूबाट ग्यास खरिद गर्न सकिने व्यवस्था गरिएको छ। ग्यास खरिद गर्नका लागि उपभोक्ताहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने निगमले जनाएको छ।
निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास वितरण भइरहेको छ। बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखाबाट नेपाल, एचपी र भानु ब्रान्ड तथा कीर्तिपुर परिसरको राधास्वामीबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध गराइएको छ।
त्यसैगरी नयाँ बजारको जुडो हल परिसरबाट नेपाल, एचपी र ओम, तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री भइरहेको छ।











