सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवाका कार्यालय खुल्ने, सट्टा बिदा पाउने, भत्ता नपाउने
थानकोट ।
सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय खुल्ने भएका छन् । सरकारले अत्यावश्यक सेवा प्रदान गर्ने निकाय बिदाका दिन पनि खोल्ने गरी मोडालिटी नै टुंग्याएको छ । सार्वजनिक बिदामा केही अत्यावश्यक सेवा विगतदेखि सञ्चालन हुँदै आएकामा सरकारले अहिले दायरा विस्तार गरेको हो ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, कन्सुलर, अध्यागमन, भन्सार तथा राजस्वका सेवा (राजस्व अनुसन्धानबाहेक) बिदामा पनि खुल्नेछन् । त्यस्तै, क्वारेन्टिन, सवारी अनुमतिपत्र दर्ता, नवीकरणलगायत यातायात व्यवस्थापनका सेवा पनि खुल्नेछन् । अस्पताल, खानेपानी, विद्युत्, सडक, ढललगायत सेवालाई पनि सार्वजनिक बिदाले प्रभाव पार्नेछैन् । बिदामा खुल्नेमा उद्योग, वाणिज्य र कम्पनी प्रशासनका सेवा, वैदेशिक रोजगार सेवा, खाद्य गुणस्तर सेवा, भेटेरिनरीलगायत पनि छन् । स्थानीय तहले प्रदान गर्ने सेवादेखि नापी र मालपोतका काम पनि बिदाका दिन सञ्चालनमा रहनेछन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले यसबारे गरेको निर्णयको सूचना राजपत्रमा प्रकाशित गर्ने गृह मन्त्रालयको तयारी छ । शनिबार तथा दसैँ, तिहार, छठ र फागु पूर्णिमाबाहेकका राष्ट्रिय पर्व बिदामा यस्ता सबै सेवा निर्वाध सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय छ नयाँ पत्रिकामा खबर छ ।











