कार चढेर आएकाले चोरे पार्किङमा राखेको गाडीबाट डिजेल

Thankot Times

थानकोट । 

दाङको तुलसीपुरस्थित पातुखोलामा रहेको नयाँ बसपार्कमा गए राति करिब २ बजेतिर एउटा कार प्रवेश गर्‍यो।

ना ४ च ५७८७ नम्बरको कारमा २ जना रहेछन्। कारबाट उनीहरू ओर्लिए, यताउता हेरे, कारबाट दुइटा जर्किन निकाले र हातमा झुण्डाए। लगत्तै पार्किङमा राखेको ना ४ ख ६४९५ नम्बरको गाडीनजिकै पुगे।

उनीहरूले बसबाट एक जर्किन डिजेल निकाले। अर्को जर्किनमा डिलेल भर्न पाएनन्। किनभने प्रहरीले यो सबै गतिविधि नियालीरहेको थियो।

बसपार्कमा पार्किङ गरिएका गाडीका डिजेल चोरिएका घटना केही दिनदेखि सुनिएका थिए। प्रहरीकहाँ पनि निवेदन पुगेको थियो। चोर पत्ता लगाउन केही दिनदेखि प्रहरी सहायक निरीक्षक सन्तोष आचार्य लगायतको टोलीले बसपार्क क्षेत्रमा निगरानी गरिरहेका थिए।

प्रहरीलाई देख्नासाथ उनीहरू भाग्न खोजे। एक जना भागिहाले। तर प्रहरीले उनलाई केहीबेरमै नियन्त्रणमा लियो। प्रहरी घेराबाट भागेका विशाल रावतलाई पातुखोला पुलचोक नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले डिजेल चोरीमा संलग्न रहेको आरोपमा तुलसीपुर ९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका विशाल रावतलाई नियन्त्रणमा लिएको हो।

उनीहरूसँग आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए।

डिजेल चोर्न प्रयोग गरिएको कार तुलसीपुर ८ का दिलीप विकको रहेको खुलेको छ सेतोपाटीमा खबर छ। उनी कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन्।

‘कार धनीले नै उनीहरूलाई डिजेल चोर्न पठाएका हुन् कि भन्ने आशंका गर्ने ठाउँ पनि देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने।

बसपार्कमा पार्किङमा राखिएका गाडीबाट टिभी, वाइफाइ राउटर, स्पिकर, डिजेललगायत चोरी हुन थालेपछि प्रहरीले गस्ती बढाएको थियो।

बस धनीहरूसँग पनि सल्लाह गरेर काउन्टरभित्रै प्रहरीलाई पनि उक्त क्षेत्र निगरानी गर्न राखिएको थियो। पछिल्लो दुई महिनामा मात्रै १६ पटक गाडीबाट डिजेल चोरेको पाइएको छ।

मध्यराति बसपार्क क्षेत्रमा कार आउने गरेको सूचनापछि प्रहरीले यस क्षेत्रमा निगरानी गरिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ