चन्द्रागिरिका दर्जनाैं पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन, केहीमा कैफियत भेटियो

Thankot Times

थानकोट ।

काठमाडौंको गोकर्णेश्वरस्थित एक सप्लायर्समा भण्डारण गरी राखिएको ठूलो परिमाणको वाइनमा लेदोजस्तो अखाद्य वस्तु भेटिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको संयुक्त अनुगमन टोलीले गोकर्णेश्वर नगरपालिका–४ स्थित शुभ ओजस सप्लायर्समा अनुगमन गर्दा सङ्खुवासभाको मकालु वाइन इन्डष्ट्रिजद्वारा उत्पादित हिन्वा ब्राण्डका ६५० मिलिलिटरका २ हजार २ सय ३२ बोतल र ४ लिटरका ६६ प्याकेट वाइनभित्र लेदोजस्तो अखाद्य पदार्थ भेटिएको हो।

त्यसैगरी, सोही सप्लायर्समा ललितपुरको झरुवारासी गोदावरीबाट उत्पादित ६५० मिलिलिटरका ४ सय २० बोतल वाइनमा समेत आँखाले प्रस्ट देखिने गरी लेदो जमेको पाइएको छ।

यस्तो अखाद्य तथा शङ्कास्पद अवस्थामा भेटिएका सम्पूर्ण वाइनहरूलाई स्थानीय जनप्रतिनिधिको रोहबरमा सम्बन्धित व्यवसायीकै जिम्मामा रहने गरी नियमानुसार बिक्री–वितरणमा तत्काल रोक (रोक्का) लगाइएको छ भने गुणस्तर परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरि नगरपालिका तथा प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित २३ वटा खाद्य व्यवसाय, मार्ट, रेस्टुरेन्ट तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण गरेको थियो।

त्यसक्रममा अनुगमन टोलीले कालीमाटी, चन्द्रागिरि, बुढानीलकण्ठ र खिचापोखरी क्षेत्रका किराना पसल, होटल–रेस्टुरेन्ट र खाद्य उद्योगहरूमा खाद्य स्वच्छताको अवस्थाबारे स्थलगत जाँच गरेको जनाएको छ।

अनुगमनका क्रममा बुढानीलकण्ठस्थित बुढानीलकण्ठ नेचर क्याम्पिङको भान्साको फ्रिजमा शाकाहारी र मांसाहारी खाद्यपदार्थ सँगै राखिएको, सिन्थेटिक खाद्य रङ प्रयोग गरिएको, भान्सामा साङ्लाको बाक्लो उपस्थिति रहेको तथा शाकाहारी र मांसाहारीका लागि एउटै चपिङ बोर्ड प्रयोग गरिएको पाइएको विभागका महानिर्देशक संजिवकुमार कर्णले जानकारी दिएका छन्।

त्यहाँ म्याद समाप्त भइसकेका ९ प्याकेट बेसन, ९ प्याकेट मेथी र ३ प्याकेट प्रशोधित दूधसमेत फेला परेपछि बिग्रेका मसला नष्ट गरी व्यवसायीलाई सुधारको प्रमाणसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यस्तै बुढानीलकण्ठ–२ स्थित बीआईईटीले निर्यातका लागि तयार पारेको तिखालाल ब्रान्डको धुलो खुर्सानीमा एफ्लाटोक्सिनको मात्रा अत्यधिक पाइएको भन्दै अन्तर्राष्ट्रिय सूचना (आरएएसएफएफ) प्राप्त भएपछि गरिएको अनुगमनका आधारमा उद्योगी स्वयम्‌ले २० किलो खुर्सानीको धुलो नष्ट गरेको विवरणमा उल्लेख छ।

यसैगरी चन्द्रागिरि नगरपालिकाका विभिन्न किराना पसल तथा मिनी मार्टहरूमा गरिएको निरीक्षणमा ठूलो परिमाणमा म्याद नाघेका अखाद्य वस्तुहरू बिक्रीका लागि राखिएको पाइएको छ।

चन्द्रागिरिका महिमा मिनी मार्ट, न्यू डिएस स्टोर, कल्पवृक्ष जनरल स्टोर र न्यू पाण्डे सप्लायर्सबाट म्याद नाघेका अचार, चोकोज, दालमोठ, मखाना, मसला, तोरीको तेल, बदाम, करी पाउडर, कर्नफ्लेक्स, सस, मिस्री तथा अन्य खाद्य सामग्रीहरू बरामद गरी तत्काल नष्ट गरिएको छ।

उक्त क्षेत्रका अधिकांश पसलहरूलाई खाद्य र अखाद्य वस्तु तथा सरसफाइमा प्रयोग हुने केमिकल अलग–अलग भण्डारण गर्न, म्याद गुज्रेका सामान राख्न छुट्टै एक्स्पायरी जोन बनाउन र घामको प्रत्यक्ष सम्पर्कबाट जोगाएर मात्र सामग्री भण्डारण गर्न कडा निर्देशन दिइएको छ।

कालीमाटीका विएसके ब्रदर स्टोर, महाकाल ट्रेड लिंक, अन्जली खाद्य किराना स्टोर, शिवांश ट्रेड लिंक र मुकेश खाद्य स्टोर्समा पनि सरसफाइ, मुसा नियन्त्रण तथा भण्डारण प्रणालीबारे अनुगमन गरिएको छ।

यस्तै खिचापोखरीस्थित कन्ट्री क्याफे एण्ड ममज तथा चन्द्रागिरिको दिव्य अरोमा रेस्टुरेन्टलाई भान्साको झ्यालढोकामा जाली लगाउन, सरसफाइमा सुधार गर्न तथा चन्द्रागिरिकै हाइ भिजन डेरीलाई दूधजन्य पदार्थको ढुवानी गर्दा कोल्ड चेन र फ्रिजको तापक्रम नियमन दुरुस्त राख्न निर्देशन दिइएको छ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ