उद्योग वाणिज्य महासंघकाे साधारणसभा आज सुरु हुँदै
थानकोट ।
नेपाल उद्योग वाणिज्य महासंघ (नेउवाम) को ५७औँ साधारणसभा आज सुरु हुँदैछ ।
याक एण्ड यती होटलमा हुने उद्घाटन समारोहपछि महासंघका पदाधिकारीको चुनाव भने २९ चैतमा प्रज्ञा प्रतिष्ठानमा हुनेछ । महासंघले नयाँ वर्षसँगै नयाँ कार्यसमिति बनाउनेछ ।
विधानतः महासंघमा ६४ जनाको कार्यसमिति हुनेछ । अहिले महासंघमा अध्यक्षबाहेकका पदमा निर्वाचन हुन लागेको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानको व्यवस्था रहेका कारण अहिले वरिष्ठ उपाध्यक्षको चुनाव हुँदैछ ।
महासंघको इतिहासमा पहिलोपटक तीन जना वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवार भएका छन् । त्यसले महासंघको चुनावी माहौल निकै रोचक बनाएको छ । अहिले वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धा गर्दैछन् ।














