सेल्फी खिच्दा खसेको मोबाइल खोज्न २१ लाख लिटर पानी रहेको तलाउ नै खाली गर्ने कर्मचारी निलम्बित
थानकोट
भारतको छत्तिसगढमा एक सरकारी कर्मचारीले आफ्नो महँगो फोन निकाल्न जलाशयबाट २१ लाख लिटर पानी पम्प लगाएर निकालेको पाइएको छ ।
आफ्नो फोनको लागि जलाशयको पानी निकालेको आरोपमा उनलाई निलम्बन पनि गरिएको छ।
यद्यपि ती व्यक्तिले भने जलाशयको पानी उपयोग गर्न नसकिने भएको र आफू भन्दा सिनियर कर्मचारीको मौखिक अनुमति लिएर नै यसो गरेको दाबी गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
काँकेर जिल्लाको कोइलीबेडा ब्लकका खाद्य अधिकारी राजेश विश्वास खेरकट्टा उक्त ड्याममा आफ्नो छुट्टी मनाउन गएका थिए । साथीहरूसँग सेल्फी खिच्ने क्रममा उनको करिब १ लाख भारतीय रुपैयाँ बराबरको सामसङको एस२३ अल्ट्रा जलाशयमा खसेको थियो । उनको फोन १५ फिट गहिरो पानीमा खसेको थियो र स्थानीयले त्यहाँ डुबेर खोज्ने प्रयास पनि गरेका थिए जुन असफल भएको थियो ।
यसपछि ती कर्मचारीले दुई ओटा डिजेल पम्प लगातार तीनदिनसम्म चलाउन लगाएर जलाशयको २१ लाख लिटर पानी बाहिर फ्याकेका थिए । यस विषयमा स्थानियबाट गुनासो आएपछि सिँचाइ तथा जलस्रोत विभागका एक अधिकारी घटनास्थल पुगेर उक्त काम रोकेका थिए । तर, रोकिँदासम्म पानीको सतह ६ फिट तल पुगिसकेको थियो ।
राजेश विश्वासले सेल्फी खिच्ने क्रममा आफ्नो हातबाट फोन चिप्लिएर खसेको र आफ्नो फोनमा आधिकारिक विभागीय डेटा भएका कारण यसलाई निकाल्न जरुरी भएको बयान दिएका छन् ।
उनले आफ्नो फोन भने फिर्ता पाइसकेका छन् ।












