नैकापस्थित ब्राइट किन्डर वर्ल्डमा आमा सम्मान तथा अभिभावक प्रतिभा उत्सव सञ्चालन हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट किन्डर वर्ल्ड स्कुलका विद्यार्थीहरूका आमाहरूको सामुहिक रूपमा सम्मान गरिने भएको छ ।
भोलि शनिबार (असोज २४ गते) विद्यालय हातामा सञ्चालन हुने कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरूका आमाहरूको सम्मान गर्न लागिएको ब्राइट किन्डर वर्ल्ड स्कुलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमका दाैरान अभिभावक प्रतिभा उत्सव समेत सञ्चालन हुने विद्यालयकी प्रधानाध्यापक हीरा थापाको भनाइ छ ।
आमाहरूको अमूल्य योगदानको कदर गर्न र अभिभावकहरूभित्र रहेको प्रतिभालाई उजागर गर्न यस कार्यक्रम संयोजन हुन लागेको प्रधानाध्यापक थापाले बताइन् ।
उनका अनुसार सन्तानको लालनपालन, घरपरिवार व्यवस्थापन र संस्कार निर्माणमा आमाहरूले खेलेको अतुलनीय भूमिकालाई सम्मान गर्न प्रयास गरिएको र अभिभावकहरूलाई विद्यालय वा समुदायका गतिविधिमा प्रत्यक्ष रूपमा जोड्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।
कार्यक्रम बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । विद्यालयले गत वर्ष विद्यालयका विद्यार्थीका बाहरूको सम्मान गरेको थियो ।













