ढुङ्गाअड्डा बस्दै आएका लुटपाट गिरोहका नाइके पक्राउ, यसअघि नै थिए २७ वटा मुद्दा

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, हतियार देखाएर लुटपाट तथा यात्रु र सर्वसाधारणलाई लक्षित गरी सिरियल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ‘आयान माझी समूह’लाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो आठ महिनादेखि उपत्यकाका विभिन्न स्थानमा यस समूहले लुटपाट गर्दै आएको थियो ।

सिन्धुलीको मरिण गाउँपालिका–५ का आयान माझी समूहका मुख्य योजनाकार हुन् । हाल काठमाडौंमा बस्दै आएका माझीले लुटपाटका लागि मोटरसाइकल, हतियार, नक्कली नम्बर प्लेटलगायतका सामग्री व्यवस्थापन गर्ने समूहका अन्य सदस्यलाई परिचालन गर्ने गरेको प्रहरीले जनाएको छ ।

माझी समूहले बिहानको समयमा सर्वसाधारणलाई सामान तथा गरगहना देखाउने बहाना बनाई मोटरसाइकलमा पछ्याउने र उपयुक्त स्थानमा पुगेपछि लुटपाट गर्ने गरेको छ । त्यस्तै, राति तथा बिहानको समयमा एक्लै हिँड्ने महिला तथा पुरुषलाई सुनसान स्थानमा रोकेर लुटपाट गर्ने र आवश्यक परे हतियार देखाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लुटपाटका क्रममा समूहले इन्ड्राइभ, पठाओको बहाना बनाई यात्रु तथा चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै, समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५ भन्दा बढी मोटरसाइकल चोरी गरेको छ । चोरी गरिएका मोटरसाइकल लुटपाटका घटनामा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ । हालसम्म प्रहरीले लुटपाटमा प्रयोग भएको दुई थान मोटरसाइकल, एक थान खुकुरी, नक्कली नम्बर प्लेट तथा वारदातका समयमा प्रयोग गरिएका कपडालगायतका सामग्री बरामद गरेको छ ।

आयान माझी समूहसँग संलग्न रहेको आरोपमा प्रहरीले मनोजकुमार मोक्तान, र राकेश सिंहलाईसमेत पक्राउ गरेको छ । उनीहरुले मोटरसाइकल पछाडि बस्ने तथा घटनामा प्रत्यक्ष संलग्न हुने गरेको प्रहरीको भनाइ छ । माझी यसअघि पनि डाँका चोरीसम्बन्धी मुद्दामा कारागार बसेका व्यक्ति हुन् । कारागारबाट छुटेपछि पुनः आपराधिक गतिविधिमा संलग्न प्रहरीले जनाएको छ ।

उपत्यकामा भएका विभिन्न सिरियल चोरी तथा लुटपाटका घटनाको अनुसन्धानका क्रममा माझी समूह सक्रिय रहेको पत्ता लागेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ