थानकोट-चित्लाङ सडकको लागि रास्वपाले संसदमा आवाज उठाउँछ- सभापति रबि लामिछाने
थानकोट ।
गणेशमान सिंह मार्ग (चित्लाङ थानकोट सडक)को स्तरीकरणको लागि मकवानपुर क्षेत्र नं. २ का सांसद महेश बर्तौलाको पहल मात्र पर्याप्त नहुने हुँदा सो सडक निर्माणको लागि रास्वपाको सबै सांसदहरूले संसद भवनमा आवाज बुलन्द पार्ने सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछानेले बताएका छन।
शनिबार सो पार्टीको थाहा नगरमा संगठन विस्तारका क्रममा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सो कुरा बताएका हुन।
उनले भने ” चित्लाङको बाटोमा राजनितीको बाटो बनाउन खोज्दा सडकको निर्माणले पुर्णता पाउन नसकेको बताउदै संसदमा आफ्नो सांसदहरूलाई चित्लाङ सडकको बारेमा आवाज उठाउन लगाउँछु” । साथै, सभापति लामिछानेले अबको पुस्ताले गर्ने राजनीतिको बाटो आफैं पहिल्याउनुपर्नेमा जोड दिँदै हजुर बाले जुन पार्टिमा भोट हाले नातिले पनि सोहि पार्टी रोज्दा देशले दुःख पाएको बताउँदै अघिल्लो पुस्ताले गरेको राजनीतिले अहिलेको पुस्ता पछुताइरहेको धारणा राखे । सो क्रममा सभापति लामिछानेले जुनसुकै दलमा आस्था राख्ने भएपनी आगामी निर्वाचनमा आफ्नो आस्था राख्ने दललाई सुधार्नको निम्ति भएपनी प्रतिपक्षमा पुर्याउन र रास्वपालाई दुई तिहाई मत दिन आग्रह गर्दै उनले दल परिवर्तन होइन देश बदल्न आएको भनेर सोच्न आग्रह गरे।
रास्वपाले भाइ भारद्वार भर्ना गरेर टीका लगाएर टिकट नदिने भन्दै सभापति लामिछानेले टिकट पाउन तल्लो कमिटीबाट चुनिएरै आउनुपर्ने भएकोले कार्यकर्तालाई ढुक्क हुन आश्वासन दिँदै ,जतिसुकै घेराबन्दी,गालिगलौच आएपनी यो देशको बागडोर सम्हाल्ने हुटहुटी आफुमा रहेको र व्यक्तिगत स्वार्थ भएकाहरुले यात्रालाई बिटुलो नपार्न आग्रह गर्दै आफू सुध्रिएर मात्र रास्वपाको अभियानमा जोडिन आग्रह गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर जिल्ला सभापति भरत पराजुलीको अध्यक्षतामा सम्पन्न भेलामा रास्वपाका बागमती प्रदेश समिती सभापति डाक्टर अच्युत्तम लामिछाने लगायत केन्द्रीय सदस्यहरु तथा मकवानपुरका नेताहरुको उपस्थिति रहेको थियो।
भेलामा थाहा भित्रका विभिन्न पार्टी परित्याग गरि २५० जना राष्ट्रिय स्वतन्त्र पार्टिमा प्रवेश गरेको पार्टीका नवनियुक्त थाहानगर सल्लाहकार किरण गोपालीले जानकारी दिए।












