मोटरसाइकल चोरीमा संलग्न दुईजना युवा कलंकीमा समातिए

Thankot Times

थानकोट ।

कलंकीबाट शुक्रबार ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका ३ घर भइ हाल काठमाडौँको स्वयम्भू ठूलोभर्‍याङ बस्ने २२ वर्षीय अमृत पाख्रिन तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ घर भइ ठुलोभर्‍याङनै बस्ने २५ वर्षीय बुद्धबहादुर वाइबा रहेको ट्राफिक प्रहरीले जनाएको छ।

चोरी भएका मोटरसाइकल खोजतलासको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍इकाइबाट खटिएको टोलीले शंकास्पद अवस्थामा च्यासिस र इन्जिनको भाग कोरिएको ना ३२ प ६६६३ नम्बरको मोटरसाइकलसहित अमृत पाख्रिन तामाङलाई नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकलको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा बुद्ध बहादुर वाईबाबाट लिएको भन्ने खुलेपछी वाईबालाई बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा चोरीमा प्रयोग भएको खुल्न आएको छ । महोत्तरीको जलेश्‍वर नगरपालिका २ घर भइ हाल ललितपुरको ग्वार्को बस्ने निकेश कुमार साहले ग्वार्को स्थित पार्किङस्थलबाट प्रदेश ३ ०२ ००२ प ८९ ७७ नम्बरको मोटरसाइकल गएको बुधबार चोरी भएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

उक्त मोटरसाइकलको चोरीमा पनि उनीहरूनै संलग्न रहेको खुल्न आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *