ठमेल कुटपिट प्रकरण : थानकोटमा समातिए सानुभाइसहित ५ जना
थानकोट ।
काठमाडाैंको ठमेलस्थित नाइट क्लब सञ्चालक र बाउन्सरमाथि कुटपिट गर्ने आरोपमा पक्राउ पर्नेको सङ्ख्या ७ पुगेको छ ।
गुण्डागर्दीमा संलग्न युवराज गुरुङउर्फ सानुभाइ सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पोखराबाट पछ्याएर थानकोट पुगेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा सानुभाइ सहित टोखा घर भएका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या–५ का कमल तामाङ छन् ।
सानुभाइ समूहका विनोद लामा र रघु लामालाई प्रहरीले घटना भएको दिन नै पक्राउ गरेको कठमाडौं प्रहरी परिसर जानकारी दिए |
असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइ सहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए ।
उनीहरूमाथि रेष्टुरेन्ट तथा लाउन्जहरुमा गएर लाखौँ रुपैयाँको खानपिन गर्ने र बिल तिर्ने बेला कर्मचारी तथा क्लब सञ्चालकहरूमाथि कुटपिट तथा तोडफोड गरेको आरोप छ ।












