कलंकीसहित काठमाडौं उपत्यकाका विभिन्न चोकमा ट्राफिक प्रहरीले थाल्यो यात्रुसँग २ मिनेट कार्यक्रम

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले आजदेखि काठमाडौं उपत्यकामा साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित काठमाडौं मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।

सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्त्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरेको जनाएको छ । 

गाडी पूर्ण रूपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभाबी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले  सवारी दुर्घटना हुँदै आएका छन् ।  

मादक तथा र लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको शङ्का लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा वा नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न पोखरेलले यात्रुलाई अनुरोध गरे । 

अभियानका क्रममा ट्राफिकसम्बन्धी आधारभूत जानकारी सहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको छ । ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानर समेत प्रदर्शन गरिएको छ । 

यात्रुको आवतजावत बढी हुने स्थानहरू काठमाडौँका न्युरोड, शान्तीवाटिका, कालीमाटी, कलङ्की, महाराजगन्ज, चाबहिल, गौशाला, कोटेश्वर लगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गते सम्म यो कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *