टिकट मूल्य आधा घटाएपछि ३ घण्टामा ९ सय ९६ जना चढे केबलकार
थानकोट ।
लुम्बिनी केबलकार चढ्ने यात्रुको संख्या बुधबार दोब्बरले बढेको छ ।
बुधबारका लागि साबिक टिकट मूल्य घटाएर आधा सस्तो बनाएपछि पहिलो दिन ३ घण्टामै ९९६ जनाले केबुलकार चढेको बताइएको छ। लुम्बिनी केबलकारले हरेक बुधबार बिहान ९ देखि १२ बजेसम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित ‘मर्निङ अफर’ सुरु गरेको छ । यसअघि केबलकारमा प्रतिदिन औसतमा ५ सय जना यात्रु आउने गरेकामा ‘मर्निङ अफर’को आएको अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए ।
यो अफ सिजन भएको र सर्वसाधारणको मागलाई समेत मध्यनजर गरेर भदौ मसान्तसम्म यस्तो अफर ल्याइएको सैंजूले बताए । आईएमई ग्रुपको अगुवाईमा कुल ५ अर्ब लागतमा बनेको लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो ।
केबलकारको दुईतर्फी यात्राका लागि साधारण टिकट दर ७५० रुपैयाँ रहेकोमा ‘मर्निङ अफर’ को लागि ३७५ रुपैयाँ मात्र कायम गरिएको छ । भदौ मसान्तसम्म यो अफर कायम रहने भएको छ । यो अफरमा भारतीय नागरिकले समेत ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने लुम्बिनी केबुलकार प्रालिले जनाएको छ ।












