काठमाडौंमा जग्गाको मूल्य आनामै सवा ६ लाखले बढ्यो, चन्द्रागिरिका जग्गामा कति बढ्यो ?
थानकोट ।
सरकारले काठमाडौं उपत्यकाका केही स्थानमा जग्गाको मूल्य बढाएको छ । चालु आर्थिक वर्ष २०८० ८१ को जग्गाको न्यूनतम मूल्यांकन गर्दै सरकारले जग्गाको मूल्य बढाएको हो ।
आर्थिक मन्दी र कित्ताकाटमा भएको कडाइले घरजग्गा कारोबार सुस्ताएको अवस्थामा सरकारले भने चालु आर्थिक वर्षको मूल्यांकनमार्फत जग्गाको मूल्य बढाएको हो ।
यो सँगै मालपोत कार्यालयले काठमाडौंमा प्रतिआना ६ लाख २५ हजार रुपैयाँसम्म मूल्य बढाएको छ ।
हालसम्म उपत्यकाको साँखु मालपोत कार्यालयले जग्गाको मूल्य १ लाख ८० हजार रुपैयाँसम्म बढाएको छ ।
मनमैजु मालपोत कार्यालयले जग्गाको मूल्य प्रतिआना डेढ लाख रुपैयाँसम्म बढाउँदा भक्तपुर मालपोत कार्यालयले प्रतिआना ६ लाख २५ हजार र ललितपुर मालपोत कार्यालयले १ लाख रुपैयाँसम्म वृद्धि गरेका छन् ।
कलंकी, डिल्लीबजार र टोखा मालपोत कार्यालयले भने जग्गाको पूरानै मूल्यलाई निरन्तरता दिएका छन् ।
चाबहिल र ललितपुर गोटिखेल मालपोत कार्यालयले भने हालसम्म चालु आर्थिक वर्षको जग्गाको न्यूनतम मूल्यांकन सार्वजनिक गरेका छैनन् ।
कलंकी मालपोतले चन्द्रागिरि, कीर्तिपुर, दक्षिणकाली लगायतका क्षेत्रका जग्गा कारोबार हेर्ने गरेको छ ।











