काठमाडौं महानगरको कार्यपालिका बैठकमा विवाद भएपछि फेसबुक लाइभ बन्द (भिडियो)

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा विवाद भएको छ ।

कार्यपालिका बैठकमा पेश भएका २१ प्रस्तावमध्ये अन्तिममा रहेको विविध शीर्षकमा छलफल हुँदा विवाद भएको हो ।

वडाध्यक्षहरुले विविध शिर्षकको छलफल सुरु भएपछि विभागीय समितिले मागेको योजना बजेटमा नपरेको, वडाले माग्दै नमागेको बजेट वडामा दिएको भन्दै प्रश्न उठाएका थिए । केही कार्यपालिका सदस्यहरुले महानगरकी उपप्रमुख सुनिता डंगोलको बजेट निर्माणमा भएको भूमिकाबारे प्रश्न गरेका थिए ।

उपप्रमुख डंगोलले बजेट आफू एक्लै बनाएको नभई बजेट तर्जुमा समितिले बनाएको जवाफ दिएकी थिइन् । उनले बैठकमा प्रश्न गरिन्, ‘वडाध्यक्षहरुले सबैले यो मेरो वडा, त्यो तेरो वडा भनेपछि प्रमुख र उपप्रमुखको चाहिँ कुन वडा ?’

विवाद पछि लाइभ बन्द

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकदेखि नै प्रत्यक्ष प्रशारण सुरु गरिएको थियो । मेयर बालेन शाहले चुनावी एजेण्डा नै कार्यपालिका बैठक लाइभ गर्नेलाई बनाएका थिए ।

जसअनुसार काठमाडौं महानगरपालिकाको आधिकारिक फेसबुक पेज, युट्युब च्यानलबाट लाइभ गर्दै आएको थियो । तर, विहीबार कार्यपालिका बैठकको अन्तिम समयमा विवाद भएपछि कार्यपालिका सदस्य बोल्दाबोल्दै लाइभ बन्द भएको छ ।

कार्यपालिका सदस्यहरु प्रशासन प्रमुखलाई जिम्मेवार नभएको भन्दाभन्दै लाइभ अड्किएर बन्द भएको हो । मेयर बालेनको सचिवालयले भने बैठक सकिएर लाइभ बन्द भएको बताएको छ ।

२१ औं कार्यपालिका बैठक महानगरपालिकाको बालाजु स्थित बाइसधारा उद्यानको सभाहलमा भएको थियो । कार्यपालिकाको बैठकले सबै बुँदामा सर्वसम्मत निर्णय गरेको छ । जस अनुसार शहरी योजना आयोगका उपाध्यक्षमा डा. सुमननरिसंह राजभण्डारी नियुक्त गर्ने, महानगरले गुठीको जग्गा भोगचलन गर्न पाउने सैद्धान्तिक सहमति, भोटेबहाल प्लाजालाई जरिवाना गर्ने लगायत निर्णय सर्वसम्मत भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *