दशैंका लागि मासुः चन्द्रागिरिसहित काठमाडाैं उपत्यकामा यी १० ठाउँमा पशुको स्वास्थ्य परीक्षण गरिँदै

Thankot Times

थानकोट ।

दसैँका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण सुरु भएको छ । सरकारले काठमाडौँ उपत्यकामा मुख्य १० वटा स्थान/बजारमा खसीबोका, च्याङ्ग्रा र राँगाभैँसीको स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

दसैँमा उपत्यकामा मासुका लागि धेरै सङ्ख्यामा पशुपन्छी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण गरिएको पशुसेवा विभागले जनाएको छ ।

पशुसेवा विभाग, जिल्ला पशुसेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधिसहितको टोलीले आइतबारदेखि परीक्षण सुरु गरको हो ।

पशुसेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने १० वटा स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसीबोका र राँगाभैँसी पठाइएको जानकारी दिए ।

खानयोग्य पशुको कानमा हरियो रङ र अस्वस्थकर खसीबोकाका लागि रातो रङ लगाइएको पशु चिकित्सक भाटले जानकारी दिनुभयो । खसीबोका खरिद गर्ने उपभोक्ताले सिङमा हरियो रङ लगाइएको छ वा छैन यकिन गरेर मात्र खरिद गर्न उनले आग्रह गरेका छन् । घटस्थापनाका दिनदेखि नवमीसम्म १० वटा टोली परिचालन गरेर खसीबोकाको स्वास्थ्य परीक्षण गरिने उनले जानकारी दिए ।

विभागका अनुसार खसीबोका भित्रिने कलङ्की खसीबजार, धापाखेल र चापागाउँ खसीबजार, टुकुचा खसीबजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

यस्तै टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सल्लाघारी च्याङ्ग्राबजार, चोभार, चाल्नाखेल रागाँबजार, चन्द्रागिरि, बालाजु बाइपास र बल्खु कालीमाटी माछाबजारमा बिहान ७ देखि ११ बजे र दिउँसो ३ देखि ५ बजेसम्म खसीबोकाको परीक्षण गरिएको विभागले जनाएको छ । आइतबार उपत्यकामा दुई हजार पाँच खसीबोका, च्याङ्ग्रा भित्रिएका विभागले जनाएको छ ।

गत वर्ष दसैँमा ३५ हजार ८४८ पशुको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ ।

घटस्थापनाका दिनदेखि उपत्यकामा खसीबोका भित्रिन थालेका हुन् । चौपाया खरिदबिक्री सङ्घका अध्यक्ष जीवनराज खड्काले खसीबोका र च्याङ्ग्रा भित्रिन सुरु गरेको जानकारी दिनुभयो । यस वर्ष खसीबोका र च्याङ्ग्राको मूल्य केजीमा दुई सय रुपियाँसम्म बढेको उहाँले जानकारी दिनुभयो ।

यो वर्ष बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा बजारको माग अनुसार खसीबोका भित्रिन नसक्ने उहाँको भनाइ छ । कम सङ्ख्यामा खसीबोका भित्रिँदा मूल्य बढ्ने गर्छ । सङ्घका अनुसार गत वर्ष जिउँदो खसी प्रतिकेजी छ सयदेखि ६५० रुपियाँ रहेकामा यस वर्ष बढेर आठ सयदेखि ८५० रुपियाँ पुगेको छ । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार ३५० रुपियाँ रहेको छ । च्याङ्ग्रा गत वर्ष प्रतिकेजी एक हजार एक सयदेखि एक हजार दुई सय रुपियाँ मूल्य रहेको थियो ।

विगतका वर्ष दसैँमा उपत्यकामा ५० हजारदेखि ५५ हजार सङ्ख्यामा खसीबोका खपत हुने गरेको थियो । यसपालि भने ४० हजारको हाराहारीमा मात्र खसीबोका भित्रिने अनुुमान गरिएको छ । यस्तै तीन हजारदेखि चार हजार च्याङ्ग्रा खपत हुने अनुमान गरिएको छ ।

बाढीपहिरोका कारण खसीबोका ल्याउन कठिन हुने र मूल्य बढेका कारण कम खपत हुने व्यवसायीले अनुमान गरेका छन् । व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरी उपत्यका ल्याउने गरेका छन् । यसपालि पानी परिरहेकाले ठाउँ ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकाले पनि ढुवानीमा समस्या छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ