राप्रपामा युवा नेता बन्न खुला आवेदनको समयावधि थप

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्यका लागि खुला आवेदनको समयावधि यही भदौ मसान्तसम्म थप गरेको छ ।

पार्टीले देशभरबाट ४० वर्षमुनिका क्षमतावान् युवालाई नेतृत्व तहमा लैजान केन्द्रीय सदस्य पदका लागि यही भदौ १५ गतेसम्म खुला आवेदन माग गरेकामा दुई साता समयसीमा थप गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपामा रहेका तथा पार्टीबाहिरका नेपाली नागरिकले प्रतिस्पर्धाबाट छनोट भएपछि दलको नीति, सिद्धान्त, एजेन्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना दिएका मध्येबाट भूगोल, जनसंख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाका आधारमा न्यूनतम ५० प्रतिशत महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिनेछ ।

सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहुभाषाको ज्ञान भएको, प्रत्यक्ष निर्वाचनमा पार्टीको उमेदवार बन्न सक्ने क्षमतावान् व्यक्तिलाई उनीहरूको कार्ययोजनाका आधारमा छनोट गरिनेछ । कार्ययोजनासहितको व्यक्तिगत विवरण पठाउन पार्टीको इमेल ठेगानाको व्यवस्था गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *