के चन्द्रागिरि नगरमा तीज कार्यक्रमका लागि हरेक वडामा २-२ लाख बाँढिएकै हो ? यस्तो छ वास्तविकता
थानकोट ।
बुधबार चन्द्रागिरि नगरपालिकाको विनियोजन ऐन, २०८० सार्वजनिक भएको छ ।
नगरले वडातर्फ बजेत वर्गीकरण तथा सिलिङ तोकी बजेट विनियोजन गरेको छ । जस अनुसार नगरका १५ वटा वडामा २१ करोड ३० लाख पूँजीगत बजेट विनियोजन गरिएको छ ।
सो पूँजीगततर्फको बजेटको सिलिङको कम्तीमा १० प्रतिशत रकम खानेपानी संरचना मर्मत तथा विस्तारका लागि विनियोजित भएको छ । नगरले वडा कार्यालय सञ्चालनका लागि प्रति वडा मासिक ६० हजारका दरले ७ लाख बीस हजार रूपैयाँ विनियोजन गरेको छ भने फोहरमैला सरसफाइ कार्यका लागि प्रति वडा मासिक ५० हजारका दरले उपलब्ध गराउने भएको छ ।
यसैगरी नगरले बाजागाजा खरिद, मर्मत सुधार, तालिम कार्यका लागि प्रति वडा २ लाख, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनका लागि प्रति वडा ६ लाख, ज्येष्ठ नागरिक देवदर्शन कार्यक्रमका लागि प्रति वडा ३ लाख उपलब्ध गराउने भएको छ ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा हुने जात्रा, पर्व, मेलाहरूको सूचीकरण गरी व्यवस्थित रूपमा सञ्चालन गर्न जात्रा पर्व शीर्षकमा कुल १ करोड १२ लाख रूपैयाँ विनियोजन गरेको छ जसमा ८ वटा वडाले सो शीर्षकमा प्रति वडा ७ लाख रूपैयाँ पाएका छन् भने ७ वटा वडाले सो शीर्षकमा प्रति वडा ८ लाख रूपैयाँ पाएका छन् ।
चन्द्रागिरि नगरले २०७९ साउन ३ गते सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रमा मनाइने पर्व, जात्रा तथा धार्मिक उत्सवहरूको सूचीकरणक लागि आह्वान नै गरेको थियो ।
सम्बन्धित समाचार
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा मनाइने जात्रा एवं पर्वहरूको सूचीकरण गर्ने
सो बमोजीम वडा कार्यालयहरूले पनि विभिन्न जात्रा, पर्व तथा उत्सवहरूका लागि बजेट विनियोजन गरेको बुधबार चन्द्रागिरि नगरपालिकाको सार्वजनिक गरेको विनियोजन ऐन, २०८० मा उल्लेख छ ।
सो ऐन अनुसार तीज पर्व शीर्षक कार्यक्रमका लागि वडा कार्यालयहरूले रकम विनियोजन गरेका छन्। चन्द्रागिरि वडा नं. ४ र ५ को जात्रा पर्व शीर्षकमा तीज शीर्षकमा समावेश छैन, बाँकी १३ वटा वडाहरूले भने तीज पर्व/हरितालिका तीज उल्लेख गरेर बजेट छुट्याएका छन् । ती वडाहरू मध्ये अधिकांशले सो शीर्षकमा २ लाख रूपैयाँसम्म बजेट छुट्याएका छन् भने केहीले १ लाख रूपैयाँ छुट्याएका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा चन्द्रागिरि नगरपालिकाले नगरका सबै १५ वटै वडामा तीज पर्व मनाउनका लागि समान २ लाखका दरले बजेट विनियोजन गरेको भन्ने विषयको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस भइरहेका छन् ।
यसैगरी नगरपालिकाले नगर क्षेत्रका प्रसिद्ध जात्राका लागि पनि बजेट विनियोजन गरेको छ जसअनुसार न्हुँ द भिन्तुनाका लागि १० लाख, मातातीर्थ मेलाका लागि ५ लाख, मत्स्यनारायण मेलाका लागि १० लाख विनियोजन गरेको छ ।
नगरले इन्द्रदह मेला, विष्णुदेवी सात गाउँले जात्रा, त्रिवेणी मेला लगायतका ५ वटा मेला तथा पर्वका लागि कार्यपालिकाले निर्णय गरेअनुसारको बजेट विनियोजन हुने जनाएको छ ।
चन्द्रागिरि नगरपालिकाको विनियोजन ऐन, २०८०को पूर्णपाठ














