असोज १३ गते चन्द्रागिरि नगरमा अन्तर नगरपालिका क्रस कन्ट्री दाैड प्रतियोगिता हुने

Thankot Times

थानकोट ।

एथलेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सह आयोजनामा अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ ।

असोज १३ गते शनिबार हुने सो प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री दौडमा सिनियर महिला तथा पुरुषको १० कि.मी. र जुनियरतर्फ महिला तथा पुरुषको ५ कि.मी. गरी ४ विधामा व्यक्तिगत, टिम र समष्टिगत रूपमा खेलाडीहरूलाई प्रतिस्पर्धा गराइने बताइएको छ ।

सो प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने सिनियर व्यक्तिगत तर्फका खेलाडीहरूले नगद २५ हजार, १५ हजार र १० हजार सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ बताइएको छ । यस्तै जुनियर व्यक्तिगततर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले नगद १५ हजार, १० हजार र ७ हजारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै सिनियरतर्फ टिम प्रथमले २४ हजार, द्वितीयले ८ हजार र १२ हजार तथा जुनियर तर्फ १५ हजार, १२ हजार र ९ हजार नगदले पुरस्कृत गरिने आयोजक एथलेटिक्स परिवार नेपालले जानकारी दिएको छ ।

यसै गरी प्रतियोगितामा सहभागी टिमले प्राप्त गरेको नतिजाको आधारमा समष्टिमा प्रथम हुने टिमले नगद ४२ हजार, द्वितीय हुने टिमले नगद ३० हजार, तृतीयले नगद १८ हजार, चौथोले नगद १४ हजार र पाँचौँ स्थान प्राप्त गर्ने टिमले नगद १२ हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी करिब ३०० खेलाडीहरूले सहभागिता जनाउने विश्वास गरिएको छ । प्रतियोगिताको खर्च करिब २० लाख लाग्ने अनुमान गरिएको छ ।

दौड चन्द्रागिरि नगरपालिकाको कार्यालय बलम्बुबाट सुरु भई नगरपालिकाको विभिन्न स्थान हुँदै पुनः नगरपालिकाको कार्यालयमा पुगेर सम्पन्न हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *