फिफा वरीयतामा नेपालको स्थान यथावत्, भारत शीर्ष १०२ मा
थानकोट ।
फिफा विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिमको स्थान यथावत छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत रहेको हो ।
नेपालले फिफाको ‘सेप्टेम्बर विन्डो’मा म्यानमारसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो ।
पहिलो खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा रोकेको थियो । नेपालले दोस्रो खेलमा भने १-० को हार व्यहोरेको थियो ।
वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अर्जेन्टिना यथावत् छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम छ ।
वरीयताको दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । भारत वरीयताको १०२औँ स्थानमा छ । दक्षिण एसियाली वरीयताको दोस्रोमा रहेको माल्दिभ्स १५५औँ, चौथोमा रहेको भुटान १८४औँ, पाँचौँमा रहेको बंगलादेश १८९औँ, छैटौँमा रहेको पाकिस्तान १९७औँ र सातौँमा रहेको श्रीलंका २०२औँ स्थानमा छ ।












