श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेटमा नेपालको समुहमा पाकिस्तान, न्यूजील्याण्ड र अफगानिस्तान

Thankot Times

थानकोट । 

श्रीलंकामा आगामी जनवरी १३ देखि हुने १५ औं आइसिसी यू-१९ मेन्स क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार  नेपाल  पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसहित समूह डीमा परेको छ।

नेपालले पहिलो खेल जनवरी १३ मा न्युजिल्यान्डविरूद्ध खेल्नेछ। समूह चरणको अर्को खेलमा नेपालले १७ जनवरीमा पाकिस्तानसँग भिड्ने छ भने अन्तिम खेल जनवरी २० मा अफगानिस्तानसँग खेल्नेछ।

आइसिसीले यो संस्करणमा प्रतियोगिताको फर्म्याटमा केही परिवर्तन गरेको छ।

१६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका टप थ्री टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

दुई समूहको शीर्ष तीन टोली रहेको सुपर सिक्स चरणमा हरेक टोलीले दुई खेल खेल्ने छन्। अर्को समूहबाट आफ्नोभन्दा फरक स्थानमा छनौट भएका टोलीसँग यी दुई खेल हुने छन्।

नेपाल रहेको समूह डीका टप थ्री टोली भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका रहेको समूह एका टप थ्री टोलीसँग सुपर सिक्स चरण खेल्ने छन्।

समूह बीमा रहेका इंग्ल्यान्ड, साउथ अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्डमध्ये शीर्ष तीन टोलीले समूह सीमा रहेका  अष्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबियाबाट छानिएका शीर्ष तीन टोलीसँग सुपर सिक्स चरण खेल्ने छन्।

समूह एको चौथो टोलीले समूह डीको चौथोसँग र समूह बीको चौथो टोलीले समूह सीको चौथोसँग खेलेर प्रतियोगिता टुंग्याउने छन्।

सुपर सिक्स चरणमा हरेक समूहबाट शीर्ष दुई गरी चार टोली सेमिफाइनलमा छनौट हुने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *