चन्द्रागिरि क्रस कन्ट्री दाैडको उपाधी हलेसीका गजेन्द्र राईलाई, चर्चामा ११ वर्षीया जुई राई

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय क्रस कन्ट्री दाैडको उपाधी हलेसीका गजेन्द्र राईले जितेका छन् ।

शनिबार सम्पन्न प्रतियोगितामा देशका ४० वटा नगरबाट प्रतिनिधित्व हुने गरी प्रतियोगितामा जुनियर टिममा १५० जना तथा सिरियर टिममा ९८ जनाले सहभागिता जनाएका थिए ।

निर्धारित १० किलोमिटरको दूरी ३२ मिनेट २६ दशमलब ०१ सेकेन्डमा दाैड पूरा गर्दै राईले नगद २५ हजार रूपैयाँ तथा पदक हात पारे ।

यसैगरी ३२ मिनेट ३८ दशमलब २ सेकेन्डमा दाैड पूरा गर्दै दशरथ चन्द नगरपालिकाका नरेन्द्रसिंह रावलले दोश्रो स्थान हात पारे भने ३३ मिनेट १२ दशमलब ९ सेकेन्ड हलेसी नगरपालिकाका सन्जय श्रेष्ठले तेस्रो स्थान हात पारे ।

महिलातर्फ सो दाैड चन्दननाथ नगरपालिकाकी पूर्णलक्ष्मी न्याैपानेले जितिन् । न्याैपानेले १० किलोमिटर दूरी ४१ मिनेट ३० दशमलब ४१ सेकेन्डमा पूरा गरिन् । यसैगरी ४२ मिनेट ५५ दशमलब १८ सेकेन्डमा दाैड पूरा गर्दै जिरी नगरपालिकाकी सुमित्रा चाैधरी दोश्रो स्थान हात पारिन्। ४६ मिनेट ०४ दशमलब ७० सेकेन्डमा दाैड पूरा गर्दै भोजपुर नगरपालिकाकी अनिता राईले महिला १० किलोमिटर सिनियर व्यक्तिगतको उपाधी हात पारिन् ।

यसैगरी महिला ५ किलोमिटर दाैडमा तारकेश्वर नगरपालिकाकी अस्मीता भुजेलले पहिलो स्थान हात पारिन । भुजेलले निर्धारित दूरी २२ मिनेट ५९ सेकेन्टमा पूरा गरिन् । यसैगरी २३ मिनेट ११ सेकेन्डमा सो दूरी पूरा गर्दै सुनकोशीकी अंशुकमारी मण्डलले दोश्रो स्थान हासिल गर्दा भोजपुर नगरपालिकाकी ११ वर्षया जुई राईले सबैलाई चकित पारिन् । उनी प्रतियोगितामा सबैको नजरमा परेकी थिइन्। उनले सो दूरी २३ मिनेट १८ दशमलब १० सेकेन्डमा पूरा गरिन् ।

पुरूष ५ किलोमिटर दाैडमा पोखरा महानगरका कृषबहादुर परियारले १७ मिनेट ४५ दशमलब ३ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गर्दा सिन्धुपाल्चोकको चाैतारा साँगाचोक गढी नगरपालिकाका विश्वराम कुँवरले दूरी १७ मिनेट ५५ दशमलब ७ सेकेन्डमा पूरा गर्दै दोश्रो स्थान प्राप्त गरे । ५ किलोमिटर दाैड १८ मिनेट ३५ दशमलब १ सेकेन्डमा पूरा गर्दै पोखरा महानगरका बादल कार्कीले तेस्रो स्थान हात पारे ।

पुरुष टिमतर्फ निर्धारित १० किलोमिटरको दूरी पूरा गरेको हलेसी नगरपालिकाले १६ अंक प्राप्त गर्दै पहिलो स्थानमा रह्यो । यसैगरी समान १७-१७ अंका पाएका दशरथ चन्द र नागार्जुन नगरपालिका क्रमश दोश्रो र तेस्रो स्थानमा रहे । 

महिला टिमतर्फ निर्धारित १० किलोमिटरको दूरी पूरा गरेको भोजपुर नगरपालिकाले १४ अंक प्राप्त गर्दै पहिलो भयो भने २७ अंक पाएको चन्द्रागिरि नगर दोश्रो तथा ३६ अंक पाएको मनरा शिसवा नगरपालिका तेस्रो भयो ।

यसैगरी पुरुष टिमतर्फ निर्धारित ५किलोमिटरको दूरी पूरा गरेको चन्द्रागिरि नगरपालिकाको क टिम पहिलो, चन्द्रागिरि नगरकै ख टिम दोश्रो तथा चाँगुनारायण नगरपालिकाको क टिम तेस्रो भयो । 

महिला टिमतर्फ निर्धारित ५ किलोमिटरको दूरी पूरा गरेको भोजपुर नगरपालिका को क टिम पहिलो, भक्तपुर नगरपालिकाको क टिम दोश्रो तथा भिमेश्वर नगरपालिकाको क टिम तेस्रो भयो । 

प्रतियोगितामा सिनियर महिला तथा पुरुषको १० किलोमिटर र जुनियर तर्फ महिला तथा पुरुषको ५ किलोमिटर गरी ४ विधामा व्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीलाई प्रतिस्पर्धा गराइएको थियो ।

शीर्ष तीन स्थान हात पार्ने सिनियर व्यक्तिगत तर्फका खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजारसहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी जुनियर व्यक्तिगत तर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले नगद १५ हजार, १० हजार र ७ हजारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सिनियर तर्फ टिम प्रथमले २४ हजार, द्वितीयले ८ हजार र १२ हजार तथा जुनियर तर्फ १५ हजार, १२ हजार र ९ हजार नगदबाट पुरस्कृत भएका छन् ।

प्रतियोगितामा सहभागी टिमले प्राप्त गरेको नतिजाको आधारमा समष्टिमा प्रथम हुने टिमले नगद ४२ हजार, द्वितीय हुने टिमले नगद ३० हजार, तृतीयले नगद १८ हजार, चौथोले नगद १४ हजार र पाँचौले नगद १२ हजार प्राप्त गरेका छन् । यद्यपी यो विधाको विजेता तत्काल यकिन नभएपछि यसको घोषणा पछि हुने प्रतियोगिता आयोजक एथलेटिक्स परिवार नेपालले जनाएको छ ।

विजेताहरूलाई नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, राष्ट्रिय धावक बैकुण्ठ मानन्धर लगायतले पुरस्कार वितरण गरेका थिए । 

सो क्रममा राष्ट्रिय धावकद्वय बैकुण्ठ मानन्धर तथा राजेन्द्र भण्डारीको सम्मानसमेत गरिएको थियो ।

एथलेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सह आयोजनामा चन्द्रागिरि नगरमा पहिलोपटक क्रस कन्ट्री दाैड प्रतियोगिता सम्पन्न भएको हो । 

क्रस कन्ट्री दौड एउटा खेल हो जसमा टोलीहरू र व्यक्तिहरूले माटो वा घाँस जस्ता प्राकृतिक भू-भागमा खुला हावामा दौड गर्छन्।


2 thoughts on “चन्द्रागिरि क्रस कन्ट्री दाैडको उपाधी हलेसीका गजेन्द्र राईलाई, चर्चामा ११ वर्षीया जुई राई

    1. आयोजकले भोजपुर नगरपालिकाको तर्फबाट सहभागी भनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *