राजा बन्न चाहनेका लागि फारम खुल्यो, असोज २५ गतेसम्म अनलाइन आवेदन दिन सकिने

Thankot Times

थानकोट । 

गोरखामा दाैडिएर राजा बनेको इतिहास हामीले विद्यालयका पुस्तकमा पढेका छाैं ।

जुन इतिहासको विम्बात्मक रूपमा निरन्तरता दिँदै लिग लिगकोटमा राजा छनोट गर्न यस वर्ष पनि दाैड प्रतियोगिता आयोजना हुने भएको छ । 

लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यसपटक अनलाइनमार्फत फाराम भर्न सकिने सुविधा मिलाइएको छ ।  लिगलिग विकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता-२०८०’ मा सहभागी हुन चाहाने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले जानकारी दिए ।

अगामी कात्तिक १ गते हुन लागेको प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले यही असोज २५ गतेसम्म फारम भरिसक्नुपर्ने उनको भनाइ छ । अभियानले यसपटक एघारौँ संस्करणको लिगलिगे दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने धावकलाई एक वर्षका लागि लिगलिग कोटको सांकेतिक राजा घोषणा गर्ने प्रचलन रहँदै आएको छ ।

गोरखा र लमजुङको सिमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानीट्यांकी, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिग कोट गढीसम्म पुगेर समापन हुने गर्दछ ।
प्रतियोगितामा उपाधि विजेता खेलाडीलाई नगद एक लाख रुपैयाँसहित श्रीपेच पगरी, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको अध्यक्ष थापामगरले बताए ।

मेन इलिट (खुला) प्रतियोगितातर्फ सहभागी खेलाडीले निर्धारित १३ दशमलब आठ किलोमिटर दूरी पार गर्नुपर्नेछ । 

नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिलो राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाहृय पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ ।

विसं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो ।

तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *