दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा, १९ टोलीको सहभागिता रहने
थानकोट ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजना भोलि (असोज २० गते) शनिबारबाट सञ्चालन हुने दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।
पहिलो हुनेले ३ लाख रूपैयाँ तथा शिल्ड पुरस्कार पाउने प्रतियोगितामा १९ टोलीले सहभागिता जनाउने भएका छन् ।
आयोजक संस्थाका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा सोल्टी नेपाल र युनिक फुटबल क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा सहभागी हुने टोलीका प्रतिनिधिहरूको उपस्थितिका बीच शुक्रबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा सहभागी भएका १९ टोलीहरूलाई २ समुहमा विभाजन गरिएको छ ।
जसअनुसार पुल ए मा यूनिक फुटबल क्लब, सोल्टी नेपाल, समतामूलक फुटबल क्लब, सिद्धीकाली फुटबल क्लब, स्टार इलाभेन फुटबल क्लब, वर्णगंगा फुटबल क्लब, भकुण्डेचाैर फुटबल क्लब, किसीपिडी युथ क्लब र सेतिदेवी क्लब रहेका छन् ।
यसैगरी पुल बी मा कुर्दन फुटबल क्लब, वाणस्थली फुटबल क्लब, ढाक्सी प्रगतिशील फुटबल क्लब, फार भीजन फुटबल क्लब, क्लीन भीजन फुटबल क्लब, वी आर व्रदर्श, ब्लुबेल फुटबल क्लब, गणेशमान स्मृति फुटबल क्लब र डीआर फुटबल क्लब रहेका छन् ।
प्रतियोगिताका उपविजेताले नगद २ लाख रूपैयाँ तथा शिल्ड पाउने प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रूपैयाँ हात पार्नेछ ।
व्यक्तिगत विधातर्फका अब्बल खेलाडीहरूले जनही १० हजार रूपैयाँ तथा ट्रफि हात पार्दा अनुशासित टिमले २० हजार रूपैयाँ प्रोत्साहन रकम पाउनेछ ।
चन्द्रागिरि नगरपालिका-०६ बालागाउँ मातातीर्थस्थित फुटबल मैदानमा सञ्चालन हुने नकआउट फुटबल प्रतियोगिता ‘नाइन ए साइड फर्म्याट’ मा खेलाइनेछ ।
२४ टोली सम्मिलित प्रथम संस्करणको मातातीर्थ गोल्डकपको उपाधी किसिपिडी युथ क्लबले हात पारेको थियो ।












