थानकोट-चित्लाङ सडक मर्मतको कार्य सम्पन्न हुन अझै केही दिन लाग्ने (भिडियो सहित)

Thankot Times

थानकोट ।

चाडपर्व नजिकिएसँगै संघीय राजधानी काठमाडाैंबाट बागमती प्रदेशको राजधानी हेटाैंडा पुग्ने प्रमुख मध्येको एक सडक मार्ग गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) को चन्द्रागिरि खण्डको मर्मत कार्य शुक्रबारबाट सुरु भएको छ ।

थानकोटबाट करिब २३ किलोमिटर दूरी रहेको सो सडकको चन्द्रागिरि नगरपालिका खण्डका विभिन्न स्थानमा खसेको पहिरो पन्छाउन सुरु गरिएको छ भने वर्षाका कारण सडकमा बनेका खाडलमा ग्राभेल गरी लेभल मिलाउने क्रमपनि सँगसँगै गरिएको चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो । 

‘हामी शुक्रबारबाट नै सडकको स्थलगत रूपमा निरीक्षण गरिरहेका छाैं । चन्द्रागिरि नगरपालिका, सडक विभाग तथा स्थानीय निर्माण व्यवसायीहरूसँगको सहकार्यमा सडक मर्मत गरी चाड पर्वका अवसरमा यातायात आवतजावतलाई सहज र सुरक्षित बनाउन लागि परेका छाैं’ प्रवक्ता खड्गीले भन्नुभयो ।

प्रवक्ता खड्गीका अनुसार सो सडक मर्मत गर्न अझै केही दिन लाग्नेछ । भिरालो भू-भाग भएका कारण सडकका कतिपय खण्डमा भीमकाय खाडल परेका छन् भने कतिपय स्थानमा माटो मात्रै थुप्रिएका छन् । 

करिब ५५ वर्षअघि खुलेको थानकोट-चित्लाङ सडकको चन्द्रागिरि नगर तर्फको खण्ड विविध कारण अझै स्तरोन्नति हुन सकिरहेको छैन् । 

पछिल्लो समय सो सडक हुँदै दैनिक रूपमा साना तथा मझाैला सवारी साधनहरू जोखिम मोलेरै आवतजावत गर्ने गरेका छन् ।

चाडपर्व नजिकिएसँगै सवारी साधनको संख्या सो सडकमा बढ्दा हुन सक्ने सम्भावित जोखिम एवं दुर्घटना न्यूनीकरणका लागि चन्द्रागिरि नगरले अग्रसरता लिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *