विश्वकप क्रिकेट: पाकिस्तानको दोस्रो हार, आज २ वटा खेल हुने
थानकोट ।
भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो हार बेहोरेको छ ।
पाकिस्तानले शुक्रबार भएको खेलमा अस्ट्रेलियासँग ६२ रनको हार बेहोरेको हो ।
भारतको चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३६८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.३ ओभरमा सबै विकेट गुमाएर ३०५ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका ओपनरद्वय इमाम उल हक र अब्दुल्लाह सफिकले क्रमशः ७० र ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । यी दुईले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गर्दै पाकिस्तानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका अन्य ब्याटरले सम्हालिएर प्रदर्शन गर्न नसक्दा पाकिस्तान लक्ष्यसम्म पुग्न सकेन ।
त्यसअघि, टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर ३६७ रनको योगफल खडा गरेको थियो ।
पाकिस्तानका साहिन साह अफ्रिदीले पाँच विकेट लिएका थिए । ह्यारिस रौफले तीन र उसमा मिरले एक विकेट लिए ।
जितसँगै चार खेलबाट चार अंक जोडेको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक नै जोडेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत शनिबार २ वटा खेल हुनेछन् । जसमा बिहान १०ः४५ बजे श्रीलंका र नेदरल्याड्सबीच खेल हुनेछ भने दिउँसो २ः१५ बजे दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच खेल हुने तालिका रहेको छ ।












