नैकाप गाेल्डकप-२०८०: आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा जारी छैठौं नैकाप गाेल्डकप फुटबल प्रतियोगितामा अन्तिम चार टाेलीकाे छिनोफानो आज हुने तालिका रहेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलहरुमा जित हात पार्दै ब्लुबेल फुटबल क्लब र मध्यपुर जागरुक युवा क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका छन्।
प्रतियोगिताको तेस्रो सेमिफाइनलमा आज दिनकाे १ बजे महादेव यूथ क्लब र गाेल्डस्टार युथ क्लबबीच खेल हुनेछ ।
याे खेलकाे विजेताले कार्तिक २२ गते फाइनल प्रवेशका लागि साबिक उपविजेता ब्लुबेलकाे चुनाैती सामना गर्नुपर्नेछ ।
यसै गरि आज नै हुने अन्तिम क्वाटरफाइनल खेलमा दिनकाे ३ बजे हामी दाजुभाई फुटबल क्लबले न्यू चन्द्र सूर्य क्लबकाे सामना गर्ने तालिका रहकाे छ । याे खेलकाे विजेताले कार्तिक २२ गते प्रतियोगिताको दाेश्राे सेमिफाइनल खेलमा मध्यपुर जागरुक युवा क्लबको सामना गर्नेछ ।
कार्तिक २५ गते यमपञ्चकको दोश्रो दिन उपाधि छिनोफानो हुने प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख पचास हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगिताका दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् ।
यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कार हात पार्नेछन्।
प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पुरस्कार तथा ट्रफी पाउनेछन् ।
गत वर्षबाट प्रदान गर्न सुरु गरिएको चन्द्रागिरि स्पोर्टस् अवार्डले यसपटक पनि निरन्तरता पाउने भएको छ । चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी वा प्रशिक्षकमध्ये सर्वाधिक सफल खेलाडी वा योगदानकर्ता प्रशिक्षकलाई प्रदान गरिने सो अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ । गत संस्करणमा भलिबल स्टार प्रतिभा मालीले यो सम्मान प्राप्त गरेकी थिइन् ।
पाँचाै संस्करणमा ब्लुबेल एफसीलाई स्तब्ध बनाउँदै तारकेश्वर युथ क्लबले उपाधी चुमेको थियो । तारकेश्वर चाैथों संस्करणको पनि डिफेन्डिङ च्याम्पियन थियो । यसपटक भने तारकेश्वर पहिलो चरणबाट घर फर्किएको छ ।












