नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा ११ वर्षपछि नयाँ कप्तान, इन्दु बर्माले पाइन् नेतृत्व गर्ने अवसर
थानकोट ।
नेपाल क्रिकेट संघ(क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको कप्तानमा इन्दु बर्मालाई नियुक्त गरेको छ ।
बिहीबार क्यानले बर्मालाई कप्तान नियुक्त गरिएको जानकारी दिएको हो । साथै क्यानले यही नोभेम्बर १५ देखि हङकङ, चीनमा हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि बर्माको कप्तानीमा १४ सदस्यीय टोली चयनसमेत गरेको छ ।
टोलीमा बिन्दु रावल उपकप्तानका रूपमा रहेकी छिन् ।
साथै सदस्यहरूमा रुबिना छेत्री, सीता राना मगर, अश्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेकी छिन् ।
शृंखलामा आयोजक हङकङसहित नेपाल, तान्जानिया र जापान रहेका छन् ।
क्यानले यसअघिकी कप्तान रुबिना छेत्रीलाई धन्यवादसमेत दिएको छ ।
रुबिनाले करिब ११ वर्ष नेपाली राष्ट्रिय महिला टोलीको कप्तानी सम्हालेकी थिइन् । क्यानले कप्तानी जिम्मेवारीमा जस्तै सिनियर सदस्यका रूपमा रुबिनाको टिममा योगदान रहनेसमेत अपेक्षा राखेको जनाएको छ । इन्दुले महिला ट्वान्टी-२० अन्तर्राष्ट्रियतर्फ ४४ खेलमा ४२ इनिङ्स खेल्दै ६९१ रन बनाएकी छिन् । ब्याटिङतर्फ उनको उच्च स्कोर ८२ रन रहेको छ ।
नवनियुक्त कप्तान इन्दुले महिला ट्वान्टी-२० अन्तर्राष्ट्रियतर्फ ४४ खेलमा ३७ इनिङ्स खेल्दै ४९३ रन बनाएकी छिन् । त्यस्तै उनले बलिङतर्फ कुल २३ विकेट लिएकी छिन् ।












