नवलपरासी जीप दुर्घटना, मृतकको संख्या सात पुग्यो
थानकोट ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-९ मा जिप दुर्घटनामा परी सात जनाको ज्यान गएको छ ।
बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका-९ गोरेघुम्तीमा दुर्घटना भएको थियो।
दुर्घटनामा परी ज्यान जानेको संख्या सात पुगेको छ। तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो।
घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेल बताए।
दुर्घटनामा मृत्यु हुनेमा जिप चालक बौदीकाली-६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका-४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन्। मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन्।
उक्त जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो।












