सात गाउँले जात्रा हेर्न काठमाडाैं उपत्यकाका मेयर तथा उपमेयरहरूलाई चन्द्रागिरि नगरको निम्तो

Thankot Times

थानकोट । 

चन्द्रागिरि तथा कीर्तिपुर नगर क्षेत्रको प्रमुख मध्येको एक सांस्कृतिक उत्सव सात गाउँले जात्रा अवलोकनका लागि चन्द्रागिरि नगरपालिकाले काठमाडाैं उपत्यकाका सबै नगरप्रमुख तथा उप्रमुखलाई निम्तो पठाएको छ। 

चन्द्रागिरि नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरेरै पालिका प्रमुख तथा उपप्रमुखहरूलाई सो जात्रा हेर्न आमन्त्रण गरिएको जनाइएको छ । 

जात्रा अवलोकनका लागि काठमाडाै र ललितपुर महानगर तथा अन्य १६ वटै नगरपालिकाका मेयर तथा उपमेयरहरूलाई निम्तो गरिएको हो ।

काठमाण्डाैका कीर्तिपुर, पाँगा, सतुंगल, मच्छेगाउँ, बोसीगाउँ, नगाँ र ल्वंकोटसमेत सात गाउँको समष्टि जात्रा सात गाउँले जात्रा वा बखुँमद जात्रा भनि परिचित छ । अचेल यस जात्रामा नैकाप पनि थपिएको छ ।

शुक्रबार चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानास्थित बखु नदी किनारमा अवस्थित विष्णुदेवी मन्दिर क्षेत्रमा सञ्चालन हुने जात्रा सहज रूपमा सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाले आवश्यक व्यवस्थापन मिलाएको सो वडाका वडाध्यक्ष घनश्याम लुँइटेलले जानकारी दिनुभयो । 

किंवदन्ती

परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बखुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ ।

आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुल्क नवमीका दिन सन्तानहरु आउने विश्वासअनुसार शुक्रबार बिहानै सबै गाउँको रथ सम्वद्ध गुठीयार र गाउँलेले बाजागाजासहित रथमा राखेर मूर्तिहरू बःखु विष्णुदेवी मन्दिरको प्राङ्गणमा पुर्याउनेछन्।

ती रथ यात्रा हेर्नका लागि उपत्यकाका सबै ठाउँका नेवार समुदाय बखु खोला किनार आइपुग्ने गर्दछन्। भोलि नै कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्छ ।

आमा मानिने विष्णुदेवीलाई भेट्न सन्तानहरुबीचमा उछिन पाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीय देवलाल श्रेष्ठ बताउँछन् ।

भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरीअर्थात् सतुङ्गलकी देवी बिना श्रृङ्गार बखु पुगेकी थिइन् र मच्छेगाउँकी देवी भने श्रृङ्गारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पीठ फर्काएर बाहिरै बसिन् ।

यसैअनुरुप बखुमा सतुङ्गलकी देवीको रथ बिना गरगहना पहिल्यै पुर्याइन्छ भने मच्छेगाउँकी देवीको रथ मन्दिर बाहिरै पीठ फर्काएर राखिन्छ । रथ पुर्याएपछि दिनभर पूजाआजा गरी पुनः सम्बद्ध गाउँमा जात्रासहित फर्काउने परम्परा रही आएको छ ।

जात्राको प्रमुखस्थल बल्खुको नाम पनि शक्तिपीठ सम्बन्धी किंवदन्तीसँग जोडिएको छ । राजधानीको पश्चिममा रहेकी तान्त्रिक देवी ‘लुङ्टीअजिमा’ इन्द्रायणी देवीको पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन गरिएकोमा एक वर्ष हवन गरी चढाएका एक जोडी परेवा बाहिर उडी गएको र तिनै परेवा बसेको ठाउँलाई नै बखु भनिएको हो ।

यसरी परेवा उडी कीर्तिपुरको पश्चिमतर्फ (हाल बखु) तिर गएपछि त्यहाँ परेवा आहुति दिन छोडिएको जनविश्वास छ ।

स्थानीय मङ्गलदास श्रेष्ठका अनुसार नेपाल भाषामा ‘बखु’ को अर्थ परेवा हुन्छ । उडेर हराएका परेवा त्यस क्षेत्रमा धेरै समयसम्म खोज्दा पनि भेटाउन नसकिएकाले ‘बखु मदु’ (परेवा नभएको) स्थान भन्न थालियो त्यसको अपभ्रंस भई हाल यस ठाउँलाई बल्खु भनिएको उहाँको भनाइ छ ।

त्यसै स्थानमा वरपरका सबै नेवार बस्तीमा विष्णुदेवी, इन्द्रायणी, ब्रह्मायणी, महेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, अष्टमात्रिकाको पूजा गरिन्छ ।

स्थानीय नेवार समुदायको प्रमुख पर्व भएकाले सातै गाउँमा घरको सरसफाइ, पाहुना पासाको आगमन र पूजाको तयारी सुरु भएको छ । यसै अवसरमा नेवारी बाजाको टोली तयार गर्ने काम करिब एक साताअघि सुरु भएको थियो ।

मच्छेगाउँका स्थानीय देवकुमार देशारका अनुसार नेपाल भाषामा मुःय भनिने आजका मन्दिरमा राखिएको रथलाई रथयात्रा सुरु हुने मण्डपमा ल्याई सरसफाइ र रङरोगन गरिन्छ । साथै अतिथिको स्वागत र परम्परागत नेवारी खाना पकाउने काम घरघरमा सुरु भएको छ ।

सिंगारिएको रथमा देवीदेवताको प्रतिमा राख्ने र सबै गाउँलेबाट पूजा गराउने काम गरी सिन्दूरे जात्रासहित बखुमा लगिने उहाँले जानकारी दिनुभयो । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *