चन्द्रागिरि साकोसका सिइओ कृष्णकुमार श्रेष्ठलाई नेफ्स्कुन उत्कृष्ट व्यवस्थापक पुरस्कार
थानकोट ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले प्रदान गर्ने वर्ष उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट चन्द्रागिरि नगरपालिका-७ थानकोट महादेवस्थानमा मुख्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ ।
नेफ्स्कुनको ३६औं दिवसका अवसरमा घोषणा भएको वर्ष उत्कृष्ट व्यवस्थापक पुरस्कार शनिबार काठमाडाैंमा आयोजित नेफ्स्कुनको ३२औं साधारणसभामा प्रदान गरिएको हो ।
देशका ५६ वटा साकोसका प्रमुख कार्यकारी अधिकृतबाट सो पुरस्कारका लागि आवेदन पेश भएको थियो । जसमध्ये चन्द्रागिरि साकोसका सिइओ श्रेष्ठले सो पुरस्कार प्राप्त गर्नुभएको बताइएको छ ।
वर्ष उत्कृष्ठ व्यवस्थापक पुरस्कारबाट सम्मानित हुनु हुने श्रेष्ठ २३ वर्षदेखी सहकारी क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
यसै गरी नेफ्स्कुन सर्वोत्कृष्ठ वर्ष साकोस पुरस्कार ज्ञानज्योती महिला उत्थान साकोस तथा चण्डेश्वरी साकोस बनेपाले प्राप्त गरेका छन् ।
यसैबीच बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को साधारणसभा अन्तर्गत भोलि आइतबार चुनाव हुने भएको छ ।
चुनावमा नेकपा एमाले निकट सहकारीकर्मी एकातिर र वर्तमान सत्ता गठबन्धन निकटका सहकारीकर्मीहरु अर्कातिर भएका छन् । केन्द्रीय राजनीतिक समिकरण नेफ्स्कुनमा देखिएको छ ।
गठबन्धनमा पद बाँडफाँडको टुंगो लागेसँगै चुनाव हुने लगभग पक्का भएको छ ।
नेकपा एमालेले हालका अध्यक्ष परितोष पौड्याललाई नै अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ भने गठबन्धनको तर्फबाट कांग्रेस निकट चन्द्रप्रसाद ढकाल उम्मेदवार बनेका छन् ।
दुवै उम्मेदवारले आफू बलियो रहेको बताइरहेका छन् ।
साथै, उनीहरु दुवैले आफू सर्वसम्मत अध्यक्ष बन्ने कसरत पनि चलाइरहेका छन् ।
सर्वसम्मत नभए भोलि बिहानैबाट मतदान हुनेछ ।
चुनावी साधारणसभा भएकाले नेफ्स्कुनका २ हजार ६ सय प्रतिनिधि काठमाडौं आइसकेका छन् ।














