त्रिभुवन पार्कमा सुस्ताउँदै करिब ८ सय जना मिटरब्याज पीडित, कोहि सेल्फी खिच्दै, कोहि दालमोठ चपाउँदै

Thankot Times

थानकोट ।

न्याय खोज्न भन्दै देशभरबाट मिटरब्याजपीडित २३ दिन पैदल हिँडेर बुधबार साँझ काठमाडौं प्रवेश गरेका छन् ।
मिटरब्याजपीडितहरुको ‘न्याय मार्च’ टोली ६ वटा प्रदेश पार गरेर काठमाडौं आइपुगेको हो । ‘न्याय मार्च’ टोलीले कर्णालीबाहेक अरु सबै प्रदेश पैदल यात्रा गरेको छ । बुधबार बिहान धादिङको थाक्रे गाउँपालिकाको सिम्लेबाट उनीहरु काठमाडौंका लागि हिँडेका थिए ।माघ १६ गते झापा र कञ्चनपुरबाट एकैसाथ सुरु भएको मिटरब्याज पीडितहरूको न्याय मार्च संघीय राजधानी काठमाडौं आएर सरकारलाई आफ्नो आवाज सुनाउने तयारीमा छ ।

बिहानदेखि भोकभोकै धादिङबाट उकालो लागेका पीडितहरु हिजो साँझ चन्द्रागिरि नगरपालिकास्थित त्रिभुवन पार्कमा खाने-बस्ने गरेका छन् । यहाँबाट आगामी आन्दोलनको स्वरुपबारे थप छलफल गर्ने उनीहरुको तयारी छ । यसअघि पनि काठमाडौं आएर माग राखेको तर सरकारले आश्वासन दिएर पनि समस्या समाधान नभएको पीडितको गुनासो छ ।

यति लामो यात्रा गरी काठमाडौं आइपुग्दा पनि राज्यले चासो नदिएको आक्रोश उनीहरुमा छ । अब सरकारलाई लिखित माग नदिने तर आफ्ना समस्या समाधान नगरेसम्म घर नफर्किने मिटर ब्याजपीडितले बताएका छन् ।चर्को ब्याजदरले आफूहरुको उठीबास लागेको, बुझाएको रकममा पनि ब्याज जोडेर साहुले झुक्याउँदै थप तमसुक बनाएको, बन्धकी राखेको जायजेथा फिर्ता नपाएको जस्ता माग राखेर २८ भन्दा धेरै जिल्लाका मिटरब्याजपीडितले आन्दोलन गर्दै आएका छन् ।बिहीबार बिहान थानकोट टाइम्सको टोली त्रिभुवन पार्क पुग्दा मिटर ब्याज पीडित केही पार तापिरहेका थिए भने केही बिहानको खाजा दालमोठ चिउरा खाँदै थिए । केही भने पार्क वरपर मोबाइल चलाउँदै फोटो कैद गरिरहेका देखिन्थे ।

पीडीतहरु मध्येका केही अगुवाहरूका अनुसार हिजो साँझ करिब ८ सय जना महिला, पुरुष तथा बालबालिकाहरू त्रिभुवन पार्क आइपुगको छ । आज बिहान समेत केही पीडित गाडीमा काठमाडाैं आइपुगेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *