मिथिला राष्ट्रिय कराते प्रतियोगिताको दोश्रो दिन सानुमाया थिङलाई दोहोरो स्वर्ण
थानकोट ।
बर्दीबासमा जारी प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता-२०८० मा चन्द्रागिरि नगरपालिका १० सतुगंल बोसिगाउँस्थित धनबहादुर खेलकुद प्रतिष्ठानकी प्रशिक्षार्थी सानुमाया थिङले दोहोरो स्वर्ण पदक जितेकी छिन् ।
प्रतियोगिता अन्तर्गत महिला एकल काता तथा महिला टिम कातामा थिङले स्वर्ण पदक चुमेकी हुन् । थिङ नेपाली सेनाको क्लबसँग आबद्ध छिन् ।
बिहीबार सुरु भएको प्रतियोगितामा मुलुकका सातवटै प्रदेशका करिब १५ सय कराते खेलाडीको सहभागिता रहेको छ ।
कराते महासङ्घ मधेश प्रदेशका सचिव कसम लामाकाअनुसार फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र आयोजक गरी १० टोलीको सहभागिता रहेको छ ।
बर्दीबास नगरपालिकाको सहयोगमा नेपाल कराते महासङ्घले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ एकल काँता र टिम काँताका ५०, ५५, ६०, ६७, ७५, ८४ र ८४ प्लस केजी गरी ७ विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।










