आठौं एनभिए राष्ट्रिय भलिबलः चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड स्पोर्ट्स क्लब समुह ‘बी’मा
थानकोट ।
चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड क्लब नेपाल भलिबल संघको आयोजनामा चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुने आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत समुहमा बी मा परेको छ ।
प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ टोली खेल्दैछन् ।
बिहीबार काठमाडौंस्थित क्राउन प्लाजा होटेलमा भएको मुख्य प्राविधिक बैठकमा गरिएको समूह विभाजन अनुसार महिलातर्फ गत वर्षको शीर्ष २ टोलीलाई फरक समूहमा राखिएको थियो । त्यस्तै पुरुष तर्फ गत संस्करणको शीर्ष ४ स्थानमा आएका टोलीलाई ४ फरक समूहमा राखिएको थियो ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश समूह ए मा रहँदा समूह बी मा चन्द्रागिरि नगरपालिका न्यू डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश रहेका छन् ।
हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान पक्का गर्नेछन् ।
पुरुषतर्फ क्वाटरफाइनल र महिलातर्फ सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।
यससँगै च्याम्पियनसिपबाट महिलातर्फ शीर्ष ६ र पुरुषतर्फ ८ शीर्ष टोली एनभिए लिगका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ ।
प्रतियोगिता अन्तर्गत दुवै विधाका हरेक विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार तथा विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही समान १५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा झन्डै ५५ लाख रुपैयाँ खर्च हुने संघको अनुमान छ ।













