प्रथम गोदावरी मेयर कप फुटबलको उपाधिका लागि चन्द्रागिरि र काठमाडाैं महानगर भिड्ने
थानकोट ।
ललितपुरमा जारी प्रथम गोदावरी नगरपालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि चन्द्रागिरि नगरपालिका र काठमाडाैं नगरपालिका टीम बीच खेल हुने भएको छ।
बिहीबार च्यासलस्थित एन्फा टेक्नीकल सेन्टरमा सम्पन्न सेमीफाइनल खेलमा आ-आफ्ना प्रतिद्वन्दीको चुनाैती समान १-० गोल अन्तरले पन्छाउँदै चन्द्रागिरि नगरपालिका र काठमाडाैं महानगरपालिका प्रतियोगिताको उपाधि नजिक पुगेका हुन् ।
बिहीबार बिहान सम्पन्न दिनको पहिलो सेमीफाइनल खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकामाथि १-० को जित हात पार्दै चन्द्रागिरि फाइनलमा पुगेको हो । महालक्ष्मीका खेलाडीले गरेको १ आत्मघाती गोल चन्द्रागिरिका लागि फाइनल पुग्न पर्याप्त रह्यो ।
बिहीबार नै सम्पन्न दिनको दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकामाथि १-० कै जित दर्ता गर्दै काठमाडाैं महानगरले प्रथम गोदावरी नगरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा चन्द्रागिरि नगरपालिकासँगको भेट पक्का गर्यो । काठमाडाैं महानगरका लागि मनिष सेढाईंले गोल गरेका थिए ।
फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।
ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएका थिए । यद्यपी सेमीफाइनल तथा फाइनल खेल गोदावरीस्थित मैदान हिलाम्मे भएका कारण च्यासल सारिएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।














