चन्द्रागिरिका नगर प्रमुखलाई त्रिभुवन पार्क संरक्षण तथा समन्वय समितिले बुझायो ज्ञापन पत्र
थानकोट।
त्रिभुवन पार्क संरक्षण तथा समन्वय समितिले चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलाई ज्ञापन पत्र बुझाएको छ ।
पार्कभित्र अवैध रूपमा बनिरहेकाे संरचनालाई हटाई पार्कलाई व्यवस्थित रूपमा अगाडि बढाउने विषयमा नगरप्रमुख समक्ष ज्ञापन पत्र बुझाइएको त्रिभुवन पार्क संरक्षण तथा समन्वय समिति संयोजक एवं बागमती प्रदेश सभा सदस्य बिन्दु श्रेष्ठले जानकारी दिनुभयो ।
साे क्रममा बागमती प्रदेश सदस्य रमा आलेमगर, चन्द्रागिरि नगरमा क्रियाशिल विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, त्रिभुवन पार्क संरक्षण तथा समन्वय समितिका सदस्यहरू, सल्लाहकार लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी सो समितिले बिहीबार नै पर्यटन कार्यालय काठमाडाैंमा समेत ज्ञापन पत्र बुझाएको छ ।
२०११ सालदेखी सञ्चालनमा आएको त्रिभुवन पार्क मुलुक संघीयता लागु भएसँगै खिचातानीमा पर्दै आएको छ । जसका कारण पार्क व्यवस्थापन भद्रगोल भएको भन्दै स्थानीयले पार्क व्यवस्थित रूपमा सञ्चालन गर्न पटक पटक माग गर्दै आएका भएपनि आशाको सञ्चार हुन सकेको छैन् ।
फलस्वरूप स्थानीयहरूले पार्क संरक्षण तथा समन्वय समिति गठन गरी पार्क व्यवस्थित रूपमा सञ्चालनका लागि आवाज उठाउँदै आएका छन् ।
संघीय सरकारले २०७५ सालबाट त्रिभुवन पार्क बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालन ल्याउने निर्णय गरिसकेको छ ।
पार्क व्यवस्थापन चुस्त नहुँदा सो क्षेत्रमा अवैध संरचना निर्माण भइरहेको, नियम विपरित व्यवसायिक प्रयोजनका लागि पार्कको क्षेत्र भाडामा लगाइएको भन्दै स्थानीयले पटक-पटक सो कार्यको समेत सामुहिक रूपमा विरोध गर्दै आएका छन् ।
बिहीबार नगरप्रमुख घनश्याम गिरीलाई बुझाइएको ज्ञापन पत्रमा पार्कमा अवैध रूपमा निर्माण भइरहेका थ्री डी हलको निर्माण रोक्न माग गरिएको छ भने पार्क क्षेत्रको दर्जनाै रोपनी जग्गा लिजमा दिन गरिएको तयारी खारेजीको माग गरिएको छ । यसैगरी पार्क क्षेत्रमा रेस्टुरेन्ट, भोज घर लगायत सञ्चालनमा रहेकोले ती कार्य अवैध रहेकोले सो समेत हटाउन त्रिभुवन पार्क संरक्षण तथा समन्वय समितिले नगरप्रमुख समक्ष माग गरेको छ ।
समितिले त्रिभुवन पार्कको पार्किङ क्षेत्रमा नीजी संस्थाले विद्युतीय सवारी साधन चार्ज गर्न चार्जिङ स्टेशन निर्माण गर्न लागेको प्रति समेत आपत्ति जनाउँदै सो को निर्माण कार्य रोक्न समेत माग गरेको छ ।
यसैगरी पार्क प्रवेशका लागि निजी क्षेत्रको कम्पनीलाई टिकट काउण्टर जिम्मा लगाइएकोमा समेत त्रिभुवन पार्क संरक्षण तथा समन्वय समितिले नगप्रमुख घनश्याम गिरीको ध्यानाकर्षण गराएको छ ।












