चन्द्रागिरि टी-१० क्रिकेट प्रतियोगिता आजदेखि, १२ टोलीले प्रतिस्पर्धा गर्ने
थानकोट ।
चन्द्रागिरि क्रिकेट एशोसिएसनको आयोजनामा आजदेखि टी-१० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
प्रतियोगितामा विभिन्न १२ टोलीले सहभागिता जनाउँदै छन्।
चन्द्रागिरि नगरपालिका-०६ स्थित मदन भण्डारी खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता १० ओभरको फर्म्याटमा खेलाइने चन्द्रागिरि क्रिकेट एशोसियसनले जनाएको छ ।
चार दिने प्रतियोगितामा सुदुरपश्चिम क्रिकेट टिम, हाम्रो क्रिकेट टिम, काठमाडाैं वारियर्स, दहचोक क्रिकेट टिम, नैकाप किङ्गस्, स्टम्प जम्पर्स, रोयल रेन्जर्स, थानकोट वारियर्स, मैत्रीनगर क्रकेट क्लब, पुष्पलाल स्पोर्ट्स क्लब, थानकोट क्लब र उडान शैक्षिक केन्द्रबीच प्रतिस्पर्धा हुने छ ।
लिगकम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगिताको हरेक समुहमा रहेका ४ समुह मध्ये शीर्षस्थानमा रहने टोलीले सेमीफाइनलमा स्थान बनाउनेछन् । ती चार टोलीबीच सेमीफाइनल खेल खेलाइनेछ ।
फाइनल खेलको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले २० हजार रूपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए ।
फाइनल खेल असोज १२ गते खेलाइने तालिका छ ।
यसैगरी हरेक खेलका म्यान अफ दि म्याचले ट्रफी पाउनेछन भने प्रतियोगिताको उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान, बलरले ट्रफी पाउँदा फेयर प्ले र इमर्जिङ प्लेयरले समेत ट्रफी पाउनेछन् । प्रतियोगिताका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताको फाइनल खेल भने २० ओभरको खेलाइने छ । रबर बलमा खेलाइने प्रतियोगिता अहिले बिहान ७ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा थानकोट वारियर्स र हाम्रो क्रिकेटबीच खेल हुनेछ ।
दोश्रो खेल बिहान ९ बजे सुरु हुने तालिका रहेको छ । जसमा दहचोक १ र रोयल रेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
दिउँसो १ बजे सुरु हुने दिनको अन्तिम तथा चाैथो खेलमा थानकोट क्लब र पुष्पलाल स्पोर्टस् क्लब आमुने सामुने हुनेछन् ।
सो अघि बिहान ११ बजे हुने तेस्रो खेलमा सुदुर पश्चिम र नैकाप किंंग्सबीच खेल हुनेछ ।















