चन्द्रागिरिमा डुबान र पहिरोः कहाँ कहाँ के-के भयो ? विस्तृत विवरणसहित
थानकोट।
अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिका-१० विष्णुदेवी क्षेत्र डुबानमा परेको छ ।
प्रहरी प्रभाग बलम्बुका अनुसार विष्णुदेवी क्षेत्रका ९ घर पूर्ण रुपमा डुबानमा परेका छन् । ती घरबाट ३० जनाको उद्धार गरि सुरक्षित स्थानमा सारिएको प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।
ती क्षेत्रबाट चाैपाया तथा कुखुरासमेत उद्धार गरिएका छन् ।
उता चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङस्थित राजमार्गमा पहिरो खस्दा सडक एकतर्फी भएको छ । कोइराला थोक नजिकैबाट पहिरो सडकमा खसेको हो । यस्तै नागढुङ्गा-घ्याम्पेडोल सडक ८ ठाउँमा अवरुद्ध भएको छ । सो सडक सुचारु गराउने प्रयास भइरहेको नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको भनाइ छ ।
नागढुङ्गा नजिकै पातलेवन क्षेत्र नजिकै पहिरो जाँदा मुख्य राजमार्ग अवरुद्ध छ ।
विष्णुदेवी मन्दिर क्षेत्रमा पानीको वहाब अप्रत्यासित रूपमा बढ्दा सो क्षेत्रका तटीय वस्ती जोखिममा परेका छन् भने सतुङ्गल बालकुमारी क्षेत्र हिजो शुक्रबारदेखी नै डुबानमा परेको छ ।
चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिरोले केही संरचनामा क्षति पुर्याएको विवरण प्राप्त भएको छ । यसैगरी मातातिर्थस्थित खानेपानी आयोजनामा समेत वर्षापछिको पहिरोले क्षति पुर्याएको बुझिएको छ ।
चन्द्रागिरि-७ स्थित महादेवस्थान खानेपानी आयोजनाका विभिन्न संरचनामा पहिरोले व्यापक क्षति पुर्याएको विवरण प्राप्त भएको छ ।










