प्रतिभा माली भलिबल खेल्न अस्ट्रेलिया जाने
थानकोट ।
भलिबल स्टार प्रतिभा मालीले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएकी छिन् ।
ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ ।
प्रतिभाले बुधवार अस्ट्रेलिया जाने जानकारी दिइन् । उनले म्यादी काली युनाइटेडबाट खेल्नेछिन् । चोटमुक्त हुने क्रममा रहेका कारण साउनमा काठमाडौंमा भएको काभा नेसन्स लिगमा प्रतिभा नेपाली टोलीमा थिइनन्।
पुनरागमनको प्रयासमा प्रतिभाले गत साता मुस्ताङमा भलिबल खेलेकी थिइन् । न्यु डायमण्ड स्पोर्टस क्लबकी प्रतिभाले माल्दिभ्समा व्यवसायिक भलिबल खेलेकी थिइन्।
प्रतियोगिताको महिलातर्फको विजेताले १ हजार २ सय ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ७ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
नकआउटका आधारमा हुने प्रतियोगिताको पुरुषतर्फको विजेताले २ हजार ७ सय अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ७ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
–हाम्रो खेलकुदबाट














