चन्द्रागिरि क्षेत्रका विभिन्न स्थानमा जमरा राख्ने दिनसम्म दिउँसो विद्युत सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट ।

अविरल वर्षाका कारण चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युतका खम्बा, तार एवं ट्रान्सफर्मर लगायतका उपकरणमा क्षति पुगेको विद्युत प्राधिकरणले जनाएको छ। वर्षा कम भएसँगै विद्युत प्राधिकरणले क्षतिग्रस्त बनेका खम्बा, तार तथा अन्य उपकरणको मर्मत गरी विद्युत सेवा सुचारु गर्न क्रम सुरु गरिसकेको छ ।

यसैबीच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि एक हप्तासम्म विद्युत् आपूर्ति बन्द हुने तालिका छ ।

नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गरिने जनाएको छ ।

विद्युत् सेवा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) अवरुद्ध हुनेछ ।

आज आइतबार बलम्बु फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा ११ बजेदेखि ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध भएको थियो भने भोलि सोमबार र पर्सि मंगलबार पनि कलंकी, थानकोट र बलम्बु फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा बिजुली हुनेछैन् ।

त्यसैगरी, बुधबार (१६ गते) कलंकी क्षेत्र, बिहीबार कलंकीदेखि सतुंगलसम्म, शुक्रबार मीनभवन र तीनकुने पुल क्षेत्र र शनिबार बौद्ध क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

साथै, मौसम प्रतिकूल रहेमा विद्युत् आपूर्ति नियमित हुने पनि प्राधिकरणको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *