चन्द्रागिरि नगरपालिका-७ गाैचरणमा आयोजित नवदुर्गा पूजामा करिब ६ लाख रुपैयाँ आम्दानी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०७ घुमाउने गाैचरणमा नवरात्रका अवसरमा आयोजित नाै दिवसीय नवदुर्गा पूजा कार्यक्रममा भएको आम्दानी तथा खर्च सार्वजनिक गरिएको छ ।

शनिबार आयोजित खर्च सार्वजनिक कार्यक्रममा वनदेवी सामुदायिक भवन संरक्षण समितिले सो कार्यक्रममा भएको आय व्यय विवरण सार्वजनिक गरेको हो ।

घटस्थापनाका दिनदेखि सुरु गरिएको पूजा कार्यक्रम महानवमीका दिनसम्म जारी रहेको थियो । सो नाै दिने कार्यक्रममा ५ लाख ८४ हजार ८९२ रुपैयाँ आम्दानी भएको संस्थाका कोषाध्यक्ष जीवन कुमार आलेमगरले जानकारी दिए ।

यस्तै सो अवधिमा ४ लाख १६ हजार ३ सय २६ रुपैयाँ खर्च भएको छ ।

गाैचरण क्षेत्रमा विभिन्न संरचना बनाउने उद्देश्यले आयोजित सो धार्मिक अनुष्ठानमा १ लाख ६८ हजार ५ सय ६६ रुपैयाँ बचत भएको छ ।

खर्च सार्वजनिक कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमा आलेमगर, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, लगायत स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयबासीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्ने क्रममा सांसद् रमा आलेमगरले नगर क्षेत्रको विकास निर्माण स्थानीयको चाहना अनुसार हुने धारणा राख्दै सार्वजनिक जग्गा संरक्षण तथा उपयोग गरी दीगो विकासको नीतिलाई अवलम्वन गर्नुपर्नेमा जोड दिइन्।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरले यसपटक बजेट परिचालनमा वडा कार्यालयहरूमा अधिकार प्रत्यायोजन गरिएको बताए । नगर क्षेत्रको धार्मिक, सांस्कृतिक एवं परम्परागत चाड पर्वको संरक्षण तथा संवर्द्धनमा नगरले आवश्यक बजेट विनियोजन गरेको नगरप्रमुख गिरीको भनाइ थियो ।

अर्को प्रसंगमा नगरप्रमुख गिरीले चन्द्रागिरि वडा नं. ७ को कार्यालय भवन अझै निर्माण हुन नसक्दा कार्यसम्पादनमा केही असहजता निम्तिएको स्वीकार्दै वडा भवन निर्माणका लागि जग्गा प्राप्तिको लागि पहल भइरहेको जानकारी दिए ।

नवदुर्गा पूजा कार्यक्रममा भएको आम्दानी तथा खर्च सार्वजनिक समारोहमा कार्यक्रमलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *