कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।
काठमाडाैंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमाा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठीक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यक रूपमा त्रसित नभई न्याय स्थापनामा दृढ ढङ्गले अगाडि बढ्न आग्रह गरे ।
‘तपाईंहरू जनताको अपेक्षा अनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ । त्यसैले तपाईंहरूले संविधान र कानुनबमोजिम देश र जनताको हितलाई शिरमा राखेर काम गर्नुस्’, प्रधानमन्त्री ओलीले भने ।
कुनै तस्कर, भ्रष्ट र ठगहरूमाथि अनुसन्धान गर्दा उल्टै उनीहरूका ठूला कुरा र हप्की सुन्नुपर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरीहरू लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरू आफ्नो दुनो सोझ्याउन भित्रभित्र विरोधीसँग साँगसाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गरे ।














