तीनकुनेमा मारिएका पत्रकारबारे अफवाह फैलाइयो, शव पोस्टमार्टम नै भएको छैन- नेपाल प्रहरी
थानकोट।
नेपाल प्रहरीले राजावादी आन्दोलनका क्रममा शुक्रबार मारिएका पत्रकार सुरेश रजकबारे सामाजिक सञ्जालमा भ्रमपूर्ण सामग्री प्रकाशित भएको भन्दै खण्डन गरेको छ।
‘चैत्र १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरिरमा गोली भेटिएको छ’ लगायतका शीर्षकहरू राखी सो घटनाका सम्बन्धमा वास्तविकता नबुझ विभिन्न सामाजिक सञ्जाल मार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण गरिएको प्रहरीको भनाई छ।
प्रहरीले पत्रकार रजकको शव पोस्टमार्टम नै नभएको स्पष्ट पार्दै जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्यक्ति एवं संस्थालाई प्रचलित कानुन कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।
चैत १५ गते, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा काठमाडौँको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा तीनकुनेस्थित एक घरमा आगो लगाउँदा रजकको ज्यान गएको थियो।
उक्त घटनाको गाम्भीर्यता तथा सत्य तथ्य समेत नबुझि विभिन्न सामाजिक सञ्जालहरुमा भ्रामक एवं गलत सूचना प्रवाह भइरहेकोप्रति जिल्ला प्रहरी परिसर, काठमाडौँले ध्यानाकर्षण भएको जनाएको हो।



















