..अनि बलम्बुबासीले इन्स्पेक्टर आचार्यलाई नेवारी पोसाक लगाइदिएर बिदाइ गरे

Thankot Times

थानकोट ।

करिब १ वर्ष प्रहरी प्रभाग बलम्बुको कमाण्ड सम्हालेका नेपाल प्रहरीका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य आइतबार बिहान नियमित पोसाक भन्दा फरक पोसाकमा सजिएका थिए ।

नेवार समुदायका पुरुषहरूले लगाउने ढाकाको दाैरा सुरुवालमा आचार्य अलिक अन्कफर्ट देखिएपनि चट्ट सुहाएको देखिन्थ्यो ।

प्रहरी निरीक्षक प्रमुख रहने प्रहरी प्रभाग बलम्बुले चन्द्रागिरि नगरका वडा नंं १ दहचोक, वडा नं. ८ मातातिर्थ, वडा नंं १० सतुङ्गल, वडा नं. ११ सतुङ्गल र वडा नं. १२ बलम्बुका इलाका देखभाल गर्ने गर्दछ ।

प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य प्रहरी प्रभाग बलम्बुबाट सरुवा भएर बनेपा जाँदैछन् । सम्भवत् उनले भोलि (सोमबार) इलाका प्रहरी कार्यालयमा हाजिर गर्नेछन् ।

३११ जना इन्स्पेक्टरकाे सरुवा, प्रभाग बलम्बुमा उपेन्द्र आचार्यको स्थानमा लक्ष्मी खड्का

घर गाउँको पुलिस थानाका हाकिम सरुवा हुने भएपछि चन्द्रागिरि नगरपालिका-१२ बलम्बुले किन उनको बिदाइ स्मरणीय नबनाउने भनि छलफल गर्यो अनि एक जोर नेवारी पोसाक जोहो गरेपछि झमझम वर्षाका बीच बलम्बुबासीले धिमे बजाउँदै प्रहरी प्रभाग बलम्बु पुगी इन्स्पेक्टर आचार्यलाई सो पोसाक लगाउन अनुरोध गर्यो ।

आचार्यले पनि कार्यक्षेत्रका जनप्रतिनिधिसहितका स्थानीयले गरेको अनुरोध नकार्न सकेनन् ।

कार्यकालभर ईमान्दारीपूर्वक सेवा गर्दै आएका प्रहरी निरीक्षक आचार्यलाई सम्मान स्वरूप स्थानीय जनप्रतिनिधि स्थानीय टोल विकास संस्था, समाजसेवीहरू स्थानीय बासिन्दाहरूले संयुक्त रूपमा बिदाइ गरेका हुन्। सो क्रममा आचार्यलाई स्थानीयका तर्फबाट दोसल्ला, खादा र मायाको चिनो उपहार दिइएको थियो ।

बिदाइ कार्यक्रममा बोल्दै वक्ताहरूले प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा समुदायसँग समन्वयमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे। बलम्बु क्षेत्रका स्थानीय बासिन्दाले उनले पुर्याएको सेवाको स्मरण गर्दै शुभकामना व्यक्त गरेका थिए।

सम्मानपछि प्रहरी निरीक्षक आचार्यले समेत आफ्नो सेवा अवधिभरको अनुभव सुनाउँदै बलम्बुबासीप्रति आभार प्रकट गरे।

बिदाइ कार्यक्रममा चन्द्रागिरि वडा नं. ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ, वडा नंं १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन, अन्य जनप्रतिनिधिहरू, समाजसेवी इश्वर लामा लगायतको उपस्थिति थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *