मध्यरातमा थानकोट चेकपोष्टमा आगलागी, आगो निभाउन दुई वटा दमकल प्रयोग
थानकोट ।
बिहीबार मध्यरातमा चन्द्रागिरि नगरपालिका थानकोट चेकपोष्टथित एक कारखानामा भएको आगलागी नियन्त्रणमा लिइएको छ।
चन्द्रागिरि नगरपालिका-०५ ठाडो बाटो चोकस्थित हाइभिजन कोलोनीमा रहेको एक सिसा कारखानामा राति करिब ११ः४५ बजे आगो लागेको हो ।
सो आगो नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको बारुण यन्त्र तथा काठमाडाैं महानगरपालिकाको बारुण यन्त्र प्रयोग गरिएको थियो ।
चन्द्रागिरि नगरप्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा सो आगो करिब एक घण्टापछि नियन्त्रणमा लिइएको प्रहरी वृत्त थानकोटले जनाएको छ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ । सो घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
आगो नियन्त्रणमा लिन प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक एलिजा गिरीको कमाण्डमा प्रहरी खटिएका थिए भने प्रहरी प्रभाग बलम्बुबाट समेत प्रभाग प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्काको नेतृत्वमा प्रहरी खटिएका थिए ।
आगलागीको कारण हाल थाहा हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
तस्वीरः रोशन थापा













