सतुङ्गल आगलागी प्रकरणः दर्ता भएका व्यवसायीलाई राहत दिने प्रकृयामा चन्द्रागिरि नगरपालिका
थानकोट ।
चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित राजकुमार सिंह महर्जन र उनकी पत्नी गुनुमाया महर्जनले सञ्चालन गरेको राधेराधे कम्प्लेक्समा बिहीबार बिहान भएको आगलागी प्रकरणका बारेमा छानबिन तथा क्षतिको विवरण संकलनको कार्य जारी छ ।
सो कम्प्लेक्समा भुइँतलामा १४ र माथिल्लो तलामा १४ वटा गरि जम्मा २८ वटा व्यावसायिक सटरहरू थिए । सटर धनी महर्जनका अनुसार सो संरचना निर्माणमा २ करोड खर्च भएको थियो । ती मध्ये ६ वटा सटरहरू खाली थिए ।
आगलागीबाट बुटिक, पूजा पसल, मिठाइपसल, कपडा पसल लगायत १ दर्जन बढी सटरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । ती सटरमा भएको सम्पत्तिको क्षतिको जनप्रतिनिधिहरूको रोहबरमा विवरण संकलन संकलन सुरु गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
यसैबीच चन्द्रागिरि नगरपालिकाले प्रमुख व्यापारिक क्षेत्र सतुङ्गलस्थित राधेराधे कम्प्लेक्समा बिहीबार भएको आगलागीको विषयमा कार्यपालिका बैठक डाकेको छ । बिहीबार बसेको चन्द्रागिरि नगर कार्यपालिका बैठकले आगलागीबाट क्षति पुगेका व्यवसायीका लागि तत्कालका लागि प्रति व्यवसाय २५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए । उनका अनुसार व्यवसाय दर्ता गरी करको दायरामा आएका व्यवसायीले सो राहत रकम प्राप्तिका लागि ग्राहयता पाउनेछन् । यद्यपी चन्द्रागिरि वडा नं. ११ का जनप्रतिनिधिले गरेको सिफारिसका आधारमा सो राहत रकम उपलब्ध गराइनेछ ।
बिहीबार बिहान करिब ५ः२० बजेबाट कम्प्लेक्समा लागेको आगो छ वटा दमकल, दर्जनाै पानी ट्याँकर तथा सयाैंको संख्यामा सुरक्षाकर्मीको परिचालन र स्थानीयको अग्रसरतामा बिहान ७ः३० बजे नियन्त्रणमा लिइएको थियो ।












