भोलिदेखि २० दिनसम्म नागढुङ्गा-पिपलामोड सडक बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द गरिने

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा-पिपलामोड सडक खण्ड भोलि (जेठ ७) देखि २० दिन (जेठ २६ गते)सम्म दैनिक छ घण्टा बन्द गरिने भएको छ ।

करिब १८०० मिटरको सो सडक खण्ड स्तरोन्नतिको कार्यका लागि यसअघि सडक मर्मतका लागि बैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइ कार्य भएकोमा सो कार्य सम्पन्न नभइसकेको हुँदा दिनको समयमा सडक बन्द गरी वर्षामास अघि नै सडक स्तरोन्नति एवं कालोपत्रे गर्न सो अवधिका लागि सडक बन्द गर्न लागिएको नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

सो अवधिमा उक्त सडक खण्डमा अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गर्न सकिने सडक आयोजनाले जनाएको छ ।

हाल उक्त सडकको १५०० मिटर सडकको कालोपत्रे भत्काउने कार्य सकिएको आयोजना प्रमुख ईन्जिनयर केशवप्रसाद ओझाले जानकारी दिए । 

सो समय अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।

यसैगरी नौबिसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ ।

बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल लगायतका अत्यावश्यकीय सेवाका सवारी साधन भने आउजाउ गर्न पाउनेछन् ।

वैकल्पिक मार्गको व्यवस्था

अरु यातायातका साधनमा सवार चालक तथा यात्रुहरुलाई समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था पनि गरिएको छ ।

वैकल्पिक मार्गहरू यस्ता छन्-

१. सितापाइला-भीमढुंगा-रामकोट-धार्के सडक मार्ग

२.सामाखुसी-टोखा-गुर्जे भञ्ज्याङ-छहरे-त्रिशूली (बेत्रावती)-गल्छी सडक मार्ग

रोकिएका सवारी साधनहरुलाई अपरान्ह ४ बजेपछि मात्रै गन्तव्यतर्फ जान दिइने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *