वाइसीएल बागमती प्रदेश अध्यक्षमा भक्तपुरका नरेश रञ्जित निर्वाचित
थानकोट ।
नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा नरेश रञ्जित निर्वाचित भएका छन् ।
बुधबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा सम्पन्न प्रथम प्रदेश सम्मेलनको बन्द सत्रबाट रञ्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
नवनिर्वाचित अध्यक्ष नरेश रञ्जित यसअघि वाइसीएलको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको रूपमा सक्रिय थिए। उनी नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमी नगर उपाध्यक्ष पनि हुन् ।अध्यक्ष नरेश रञ्जित नेतृत्वको बागमती प्रदेश समितिमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी उपाध्यक्ष निर्वाचित भएका निर्वाचन समितिका संयोजक गोविन्द बटालाले बताए ।
समितिको सचिवमा प्रदीप तामाङ ङेमासङ निर्वाचित भएका छन् भने सहसचिवमा क्रमशः विष्णु नेगी, अर्जुन तामाङ, सुदिप केसी, बिकास श्रेष्ठ, सनम महर्जन(जनजाति), प्रितिमा तामाङ(महिला) निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा रोमि घले निर्वाचित भएकी छन् ।
सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले प्रस्तुत गरेको प्यानल सर्वसम्मत भएपछि निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन परिणाम घोषणा गरेको हो ।
बन्द सत्रमा माओवादी केन्द्रका केन्द्रीय नेताहरू हितमान शाक्य, हितबहादुर तामाङ, दिलिप प्रजापति, सूर्य सुवेदी पथिक लगायतको आतिथ्यता रहेको निवर्तमान प्रदेश संयोजक साजन अधिकारीले बताए ।
सोमबार सो सम्मेलन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उद्घाटन गरेका थिए । सम्मेलनमा ४ सय बढी सम्मेलन प्रतिनिधिको सहभागिता रहेको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि नरेश रन्जितले सङ्गठनलाई अझ सशक्त बनाउने, युवाहरूलाई राजनीतिसँगै सामाजिक परिवर्तनमा सक्रिय बनाउन भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् ।












