प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको आजको बैठकमा तीन संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गरिने भएकाे छ ।

बिहान ११ बजे बस्ने बैठकमा ती प्रतिवेदन पेस गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

साथै अर्थसम्बन्धी विधेयक र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का दुई महासन्धी अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानवअधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, मन्त्री गाैतमले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१/ ०८२ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/ ०८२) सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ र श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं ८१) माथि सामान्य छलफल गरियोस् तथा ती महासन्धी अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *