समावेशी शिक्षा, अनुभव, ज्ञान र व्यवहारिक अभ्याससम्बन्धी कार्यशाला सतुङ्गलमा सम्पन्न
थानकोट ।
काठमाडौं विश्वविद्यालय शिक्षा विभाग र इनर ह्वील क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा सतुङ्गलमा समावेशी शिक्षाको मूल्यबोध शीर्षकमा एक दिवसीय कार्यशाला सम्पन्न भएको छ ।
सतुङ्गलस्थित जेसीज ईन्टरनेसनल स्कुलमा शनिबार आयोजित कार्यशाला समावेशी शिक्षाको सिद्धान्त, बालमैत्री शिक्षण पद्धति, फरक क्षमता भएका विद्यार्थीहरूको समावेशीकरणका उपाय र व्यवहारिक पक्षहरूका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिइएको इनर ह्वील क्लब अफ चन्द्रागिरिले जनाएको छ ।
कार्यशालामा चन्द्रागिरि नगरपालिका वडा नं. १५ का वडाध्यक्ष एवं नगरको सामाजिक विकास समिति संयोजक घनश्याम लुँइटेल लगायत अन्य जनप्रतिनिधिहरू, नगरको शिक्षा शाखा निर्देशक बुद्धि भट्ट, चन्द्रगिरि प्याब्सनका अध्यक्ष तथा जेसिज ईन्टरनेशनल स्कुलका प्रधानाध्यापक सरोज महर्जन, राष्ट्रिय परीक्षा बोर्डका सदस्य एवं ब्राइट फ्यूचर स्कुलका प्रधानाध्यापक दयाराम थापा, विभिन्न विद्यालयका प्रतिनिधिहरू, समावेशी शिक्षाका प्रशिक्षार्थीहरू, इनर ह्वील क्लब अफ चन्द्रागिरिका सदस्यहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै इनर ह्वील क्लब अफ चन्द्रागिरिकी अध्यक्ष मिन्जुशोभा चित्रकारले समावेशी शिक्षा कुनै विकल्प नभई प्रत्येक बालबालिकाको मौलिक अधिकार भएको धारणा राखेकी थिइन् ।
कार्यशालामा प्रमुख वक्ताका काठमाडाैं विश्वविद्यालय शिक्षा विभागका रमेश बराल, विभागकै आशिषा थापा, न्युरो पेडियाट्रिक थेरापिस्ट डा. संगीता कार्की लगायतले समावेशी शिक्षासम्बन्धी आफ्ना अनुभव, ज्ञान र व्यवहारिक अभ्यासहरू प्रस्तुत गरेका थिए ।


















